Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इकु ३’ बनाउँदै सुलेमान, स्क्रिप्ट लेख्दैछन् प्रदीप

फिल्मीखबर, काठमाडौं, 2022/12/07

suleman sankar and Pradip Bhardwaj

 

सफल फिल्म ‘इकु’को तेस्रो सिरिज निर्माण हुने भएको छ । यही फिल्ममा निभाएको ‘इकु’ चरित्रबाट चर्चित सुलेमान शंकरले तेस्रो सिरिज बनाउन लागेका हुन् । आगामी चैतबाट छायांकनमा थाल्ने गरी यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको उनले जानकारी दिए । अहिलेका सर्वाधिक व्यस्त र महंगा स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले फिल्मको कथा, पटकथा तथा संवाद लेखिरहेका छन् ।

जंगलमा बस्ने एक पात्रको कथामा आधारित भएर २००८ मा रिलिज भएको ‘इकु : द जंगल म्यान’ र २०१२ मा रिलिज भएको ‘इकु : ब्याक अगेन’ दुवै सफल भएका थिए । सुलेमानले करिब १० वर्षपछि ‘इकु’को तेस्रो सिरिज निर्माण गर्न लागेका हुन् । फिल्ममा उनी स्वयंको अभिनय तथा निर्माण रहनेछ । अन्य कलाकारहरु भने स्क्रिप्ट ‘लक’ भएपछि फाइनल गरिने सुलेमानले जानकारी दिए ।

उनले यसपटक पनि फिल्मको कथा जंगलमा आधारित हुने बताए । ‘अघिल्ला दुई श्रृंखला जंगलमा आधारित थियो । यसपटक पनि जंगल छिरिन्छ । जंगल र जनावर बिना त ‘इकु’ सिरिज अधुरो हुन्छ,’ सुलेमानले भने, ‘यसपटक जंगलका साथै गाउँमा पनि फिल्म छायांकन हुन्छ ।’ कमेडी कथावस्तुमा निर्माण हुन लागेको फिल्मलाई २०८१ सालको नयाँ वर्षमा प्रदर्शन गर्ने उनको योजना छ ।

‘इकु’का अघिल्ला दुवै श्रृंखलालाई सागर लामिछानेले निर्देशन गरेका थिए । ‘इकु ३’का लागि भने निर्देशक फाइनल गरिएको छैन । आफैंले निर्देशन गर्ने सम्भावना पनि छ ? भन्ने प्रश्नमा सुलेमान भन्छन्, ‘आफैंले निर्देशन गर्ने सम्भावना त छैन । आफैंले धेरै काम गर्न सकिन्न । केही समयमा निर्देशकको पनि टुंगो लाग्छ ।’ उनले पछिल्लो पटक कमेडी प्रधान फिल्म ‘फिर्के’ निर्माण गरेका थिए ।