
फिल्म निर्माण गजबै फापेका निर्माता हुन्, किरण नेपाली । स्टारकास्ट लिएर फिल्म बनाउन माहिर मानिने उनले ‘पोइ पर्यो काले’ र ‘दुई नम्बरी’बाट राम्रै मुनाफा कमाए । अब उनी फिल्म ‘हात्तीछाप’ निर्माण गर्दैछन् । प्रदीप भारद्धाजले स्क्रिप्ट लेखन गरिरहेको फिल्मको यस वर्षको चैत अन्तिमबाट छायांकन सुरु गर्ने योजनामा नेपाली छन् । सामाजिक कथावस्तुमा यो फिल्म निर्माण हुनेछ ।
फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्ने सहमति भइसकेको छ । उनले यसअघि ‘फर्स्ट लभ’, ‘मिसन पैसा’, ‘झ्यानाकुटी’, ‘मिसन पैसा रिलोडेड’ फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मका लागि निर्देशकमा सिमोस लेखक भारद्धाजको रोजाई रहेको स्रोत बताउँछ । आफूले लेखेको ‘झ्यानाकुटी’लाई उत्कृष्ट बनाएको भन्दै उनले सिमोसको निर्देशकिय क्षमताको प्रशंसा गर्ने गरेका छन् ।
‘हात्तीछाप’को मुख्य भूमिकामा भने अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । उनलाई टिम र कथावस्तु मन परेको छ । तर, आफ्नो पाइपलाइनमा फिल्मको ताँती भएकाले उनले फिल्म साइन गरिसकेका भने छैनन् । उनले फिल्मलाई समय दिन नभ्याएको अवस्थामा अभिनेताद्वय विपिन कार्की र खगेन्द्र लामिछानेमध्ये एकजनालाई अनुबन्ध गर्ने तयारीमा सुनवार र नेपाली रहेका छन् ।
रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा निर्माण हुने फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्नेछ । ‘हात्तीछाप’ रिलिज भएपछि किरण हिट फिल्म ‘दुई नम्बरी’को दोस्रो सिरिज बनाउने योजनामा छन् । यो फिल्मको अफर लिएर केही दिनअघि उनले तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहसँग भेट गरेका थिए । पलले फिल्ममा काम गर्न ‘ग्रिन सिग्नल’ देखाएको नेपाली बताउँछन् ।

