Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टेक्ससको ६३ सय दर्शक अट्ने हलमा ‘नेफ्टा अवार्ड’ हुँदै

फिल्मीखबर, काठमाडौं, 2022/12/07

निजी क्षेत्रको प्रतिष्ठित ‘नेफ्टा फिल्म अवार्ड’को ११औं संस्करण अमेरिकाको टेक्ससमा आयोजना हुँदैछ । बुधवार भर्चुअल पत्रकार सम्मेलनमार्फत् आयोजक संस्था चलचित्र प्राविधिक संघले आगामी मे २७, २०२३ (जेठ १३) मा अवार्ड आयोजना हुने जानकारी गरायो । अवार्डलाई यसपटक हलिउडको देश अमेरिकामा पुर्‍याउन पाउँदा खुशी लागेको संघका अध्यक्ष पुष्कर लामाले बताए ।

लामाले भने– ‘कोरोना महामारीपछि नेपाली फिल्मको बजार अझै विस्तार भएको छ । अमेरिकालाई नेपाली फिल्मसँग जोडेर हेर्न सकेको खण्डमा नेपाली फिल्म क्षेत्रले अझै फाइदा लिनेछ भन्नेमा संघ विश्वस्त छ ।’ यसअघि नेफ्टा अवार्ड नेपाल, मलेसिया, कतार, हङकङ र दुबईमा आयोजना भइसकेको छ । गत वर्ष काठमाडौंमा नेफ्टा अवार्डको १०औं संस्करण आयोजना भएको थियो ।

 

nefta award


११औं नेफ्टा अवार्ड ६३ सय दर्शक सिट क्षमता भएको टेक्सस ट्रष्ट सियू थिएटरमा हुनेछ । भर्चुअल पत्रकार सम्मेलनमा आयोजकले अवार्ड हुने हलको भिडियो सार्वजनिक गरेको थियो । कार्यक्रममा सुपरस्टार राजेश हमालले शुभकामना दिँदै अवार्ड आयोजना चुनौतीपूर्ण भए पनि आयोजक सफल हुनेमा विश्वास व्यक्त गरे । हमाललाई ‘महानायक’को उपाधि प्राविधिक संघले नै दिएको हो ।

४२ महत्त्वपूर्ण विधामा वितरण गरिने अवार्डमा हलिउड तथा बलिउडका प्रतिनिधिहरुलाई समेत सहभागी गराउने कोसिस भैरहेको फेम नेपालका संचालक विमल कुमार पछाईले बताए । यस्तै, अवार्ड आयोजक संस्थामध्ये एक यूएस खबरका प्रधान सम्पादक किशन रेग्मीले पनि नेपाली फिल्म र फिल्मीकर्मीलाई कमजोर आँकलन गर्नेहरुलाई यो अवार्डले राम्रो जवाफ दिने बताएका छन् ।

अवार्डमा काठमाडौं महानगरका मेयर बालेन शाह, राजेश हमाल, भूवन केसी, नीर शाह, सौगात मल्ल, पूजा शर्मा, प्रदीप खड्का, प्रियंका कार्की, साम्राज्ञी आरएल शाह, केकी अधिकारी, पुष्प खड्का, वर्षा राउतलगायत सहभागी हुने बताइएको छ । यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ६६४८ मिडिया र आर्यन फिल्मस्ले संयुक्त रुपमा नेफ्टा अवार्डको आयोजना गर्दैछन् ।