Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ २’ बन्ने, केकी-आँचल दोहोरिन्छन् ?

फिल्मीखबर, काठमाडौं, 2022/12/07

विगत केही वर्षयता नेपालमा सिक्वेल फिल्म निर्माणको बाढी नै आएको छ । नयाँ नाममा बनेको फिल्म हिट भयो भने निर्माताहरु त्यसलाई सिक्वेल वा सिरिजको रुपमा अगाडि बढाउन ढिला गर्दैनन् । दर्शकहरुले पनि नयाँ नाममा बनेका फिल्मभन्दा सिक्वेलप्रति नै बढी विश्वास गरेको देखिन्छ । अब सिक्वेल फिल्मको भीडमा यस वर्षको ‘क्लिन हिट’ फिल्म ‘झिँगेदाउ’ पनि थपिने भएको छ ।

करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ले घरेलू बक्सअफिसमा अनपेक्षित अंक जोडेको थियो । फिल्मको कमाईले निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजालाई नै अचम्मित तुल्याएको थियो । अब उनी यसको सिक्वेल निर्माणको तयारीमा जुटेका छन् । यतिबेला महेश दवाडीले ‘झिँगेदाउ २’को स्क्रिप्ट लेखिरहेका छन् । सम्भवतः अर्को वर्ष सुटिङ सुरु हुनेछ ।

 

केकी र आँचलको 'झिँगेदाउ' गीत खिच्न १५ लाख


दुई छोराबीचको झगडाका कारण आमा वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’लाई विट मारिएको थियो । त्यहीँबाट सिक्वेलको उठान हुनेछ । तर, अघिल्लो पार्टभन्दा यसपटक बजेट बढी हुने देउजाको अनुमान छ । उनी भन्छन्, ‘फिल्म गाउँले परिवेशमा नै बन्छ । पुराना शैलीका घर र त्यसअनुरुपको परिवेश देखाउन खर्च ठूलो लाग्छ । अनि, अघिल्लो पार्टभन्दा थप राम्रो बनाउनुपर्ने चुनौती पनि छ ।’

‘झिँगेदाउ २’मा अघिल्ला पार्टका पाँचजना कलाकारलाई दोहोर्‍याउने निर्देशक देउजाको योजना छ । उनले भने, ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिन्छन् नै । तर, स्क्रिप्ट फाइनल भएपछि मात्र कलाकारसँग कुरा अगाडि बढाउँछु,’ उनले भने । ‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय थियो । सिक्वेलमा उनीहरु नै रहनेछन् ।

निर्देशक देउजाको पाइपलाइनमा यतिबेला ‘झिँगेदाउ २’सहित चारवटा प्रोजेक्ट छन् । उनी निर्माता छविराज ओझासँग मिलेर ‘जेल ब्रेकर’ बनाउँदैछन् भने अर्को फिल्मको स्क्रिप्ट पत्रकार सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् । अर्को एउटा बाहिरी ब्यानरको फिल्म पनि रहेको उनले जानकारी दिए । निर्देशक देउजाले ‘झिँगेदाउ’बाट करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए ।