Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ओम शान्ति ओम’ सम्पादन भएको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन

फिल्मीखबर, काठमाडौं, 2022/12/06

डा. कपिल रिजालद्वारा निर्देशित रोमकोम जनराको फिल्म ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेकाले फिल्मप्रति अपेक्षा उच्च छ भने उनीहरुको केमेस्ट्रीलाई लिएर दर्शकमा उत्सुकता पनि बढेको छ । यस फिल्ममा निर्देशक रिजाल स्वयंम्को प्रस्तुति तथा कथा छ ।

प्रदर्शनका लागि २ महिना बाँकी रहँदा फिल्मको भने केही हप्तादेखि स्वप्न नगरी मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता बलिउड फिल्मको सम्पादन भएको मुम्बईको नामी प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक रिजालले बताए ।

नेपालमा प्रोडक्सन स्टुडियो धेरै भए पनि राम्रो ‘आउटपुट’ निकाल्नका लागि मुम्बईको स्टुडियो रोजेको निर्देशक रिजालको भनाई छ । मुम्बईमा फिल्मको पोस्ट प्रोडक्सन आफूले सोचेको जस्तै गरी भइरहेकोमा उनले खसी व्यक्त गरे । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । पेशाले दन्त चिकित्सक रहेका रिजालले यसअघि केही सर्ट फिल्मको निर्देशन भने गरिसकेका छन् ।

 

HKP-Mumbai
 

अघिल्लो साता फिल्मको पोस्ट प्रोडक्सनको काम हेर्न जितु नेपाल मुम्बई पुगेका थिए । उनी मुम्बईको स्टुडियोले नेपाली फिल्मलाई दिएको महत्त्व र सम्मानबाट खुसी देखिए । उनी भन्छन्, ‘हामी उहाँहरुको ग्राहक भएकाले राम्रो काम दिनुभएको छ । उहाँहरुले बलिउडकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनुभएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहित पनि देखिनु भएको छ ।’

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउड फिल्मको साउण्ड मिक्सिङ गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउँदा एउटा माइलस्टोन पार गरेको बताउँछन । उनले फिल्मको कन्टेन्ट र भावना राम्रो रहेको भन्दै प्रशंसा पनि गरे । यो फिल्मको साउण्ड मिक्सिङ आफ्नो करिअरको माइलस्टोन रहेको दास बताउँछन् ।

पहिलो पटक नेपाली फिल्ममा कलरको काम गर्दा नयाँ अनुभव भएको  प्राइम स्टुडियोका कलरिस्ट मनोज वर्माले बताए । बलिउड जत्तिकै प्राथमिकता राखेर आफूले काम गरिरहेको बताउँदै उनले ‘ह्यारी कि प्यारी’मा फिल्म ‘बजरंगी भाइजान’को लेभलको कलर भएको दाबी गरे । स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफूले राम्रो काम दिने र समयमै फिल्मको काम सकाउने बताउँछन् ।

फिल्ममा ब्याकग्राउण्ड दिएका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको अनुभव साटे । ‘उहाँहरुले भावनात्मक फिल्म बनाउनु भएको छ । जसमा नेपालको ग्रामीण भेगलाई आकर्षक ढंगले उतारिएको छ । नेपाल र फिल्मको मर्म मर्न नदिने गरी मैले स्तरीय ब्याकग्राउण्ड म्युजिक दिएको छु । र, आशा छ नेपाली दर्शकहरुले मनपराउनु हुन्छ ।’

 

HKP-Mumbai


‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईको सुविधा सम्पन्न स्टुडियोमा काम गर्दा टेक्निकल रुपमा धेरै नै सजिलो हुने अनुभव साट्छन् । त्यस्तै, फिल्मका छायाँकार, पटकथा तथा संवाद लेखक सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सन गर्दा प्राविधिक रुपमा फिल्म अत्यन्त अब्बल बनेको दाबी गर्छन् । उनले फिल्मको सम्पादन फोरके प्रविधिमा भइरहेको जानकारी दिए ।


विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारीलगायतको पनि अभिनय रहेको फिल्ममा रेखा थापा अतिथी भूमिकामा छिन् । फिल्ममा डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको स्वर र कविराज गहतराजको कोरियाग्राफी छ ।