Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डको ११औं संस्करण अमेरिकामा हुने

फिल्मीखबर, काठमाडौं, 2022/12/05

nefta

 

नेपाली फिल्म क्षेत्रको पुरानो नेफ्टा फिल्म अवार्डको ११औं संस्करण संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) मा अमेरिकामा अवार्ड हुन लागेको जानकारी गरायो । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड आयोजना भइसकेको छ ।

संघका अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताए । अमेरिकी संस्करणका लागि प्राविधिक संघले फेम नेपाल, आर्यन फिल्म्स  र युएस खबरलगायतका संस्थाहरुसँग सहकार्य गर्दैछ । फिल्मको अन्तर्राष्ट्रियकरण संघको कार्यभार बनेको बताउँदै लामाले विदेश नेपाली फिल्मको ठूलो बजार बन्न लाग्नु शुभ संकेत भएको बताए ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, विदेशीमा नेपाली फिल्मको बजार खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । अवार्डका लागि एनआरएन र कूटनीतिक नियोगसँग पनि समन्वय हुने अध्यक्ष लामा बताउँछन् ।

यसपटकको संस्करणमा यस वर्ष (२०७९ साल) भित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा जनाइएको छ । ४२ विधामा वितरण हुने अवार्डका लागि जुरीले बैशाखमा फिल्म हेर्नेछन् । कोरोना महामारी सामान्य भएपछि गत वर्ष नेफ्टा अवार्डको १०औं संस्करण काठमाडौंको सोल्टी होटलमा भएको थियो । नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ ।