
यस वर्ष केही नेपाली फिल्मको व्यापार चमत्कारी रह्यो । ‘कबड्डी ४’ले सर्वाधिक कमाईको रेकर्ड राख्यो भने ‘झिंगेदाउ’, ‘२ नम्बरी’ र ‘महापुरुष’ वर्षकै ‘क्लिन हिट’ फिल्म बने । ‘प्रेमगीत ३’ वर्षको दोस्रो ठूलो कमाई गर्ने फिल्म बन्दा ‘ए मेरो हजुर ४’ र ‘के घर के डेरा’ले घरेलु बजारबाटै लगानी उठाउन सफल भए । यो वर्षको अन्तिमसम्म थप केही फिल्म सुपरहिट हुने आँकलन गरिएको छ ।
तर, ‘महापुरुष’पछि प्रदर्शनमा आएका नेपाली फिल्मको अवस्था टिठलाग्दो छ । अघिल्लो हप्ताको फिल्म ‘मिलन’ र यस हप्ताको फिल्म ‘पासो’ दुवै बक्सअफिसमा टाँट पल्टिए । ‘मिलन’ चार/पाँच दिन भए पनि मल्टीप्लेक्सहरुमा टिकेको थियो । तर, ‘पासो’लाई तीन दिनमै दर्शक अभावका कारण राजधानीका प्रायः मल्टीप्लेक्सहरुले उतारेका छन् । केहीमा भने सोमबारसम्म टिक्ने देखिन्छ ।
जाडो र वर्ल्ड कपको माहोलका कारण मंसिरमा रिलिज भएका नेपाली फिल्मले दर्शक पाउन नसकेको विश्लेषण कतिपयको छ । केही हदसम्म यसमा सत्यता पनि छ । जाडोले गर्दा विहानी शो र वर्ल्ड कपले साँझको शोमा दर्शकको उपस्थिति खासै सुखद् छैन । तर, दिउँसोको शोमा समेत नयाँ नेपाली फिल्मप्रति दर्शक आकर्षित नहुनुले फिल्म आफैंमा सशक्त छैनन् भन्ने बुझ्न सकिन्छ ।
अब फिल्म क्षेत्रकै आशा फागुन महिनामा छ । यो महिनामा सुपरहिट हुन सक्ने केही फिल्महरुले रिलिज मिति तोकेर बसेका छन् । यसमध्ये एक हो, ‘छक्का पञ्जा ४’ । यसका अघिल्ला तीनैवटा श्रृंखलाले कमाईमा एतिहासिक रेकर्ड बनाएका कारण यो फिल्मले पनि नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । फागुनमै ‘परदेशी २’, ‘छड्के २’, ‘फूलबारी’ जस्ता आशातित फिल्म पनि लाग्दैछन् ।

