Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अर्को वर्ष विवाहको तयारीमा सविन र अनु

फिल्मीखबर, काठमाडौं, 2022/12/04

Anu Shah and Sabin Shrestha

 

लगनको महिना अर्थात् मंसिर सुरु भएसँगै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिरहेका छन् । तर, नेपाली फिल्मको ‘लभ बर्डस्’ सविन श्रेष्ठ र अनु शाहको विवाहका लागि लगन जुर्न सकेको छैन । विगत ७/८ वर्षदेखि प्रेम सम्बन्धमा भए पनि उनीहरु विवाहका लागि हतारिएका छैनन् । कोभिडअघि यो जोडीले अदालती विवाह गरेको खबर चुहिएको थियो । तर, दुवैले यसको खण्डन गरेका थिए ।

अब भने यो जोडी बिहेको योजनामा छ । सविनले अर्को वर्ष विवाह हुनसक्ने बताए । उनी भन्छन्, ‘बिहे अलि राम्रैसँग गर्ने योजनाले पनि हतार नगरेका हौं । यस वर्ष त होइन, अर्को वर्ष चाहिँ विवाह हुनसक्छ ।’ प्रेम सम्बन्धलाई विवाहमा बदल्न ढिलाई गरे पनि उनीहरुबीच व्यवसायिक सहकार्य हुँदै आएको छ । उनीहरुले ‘लक्ष्य’, ‘हमेशा’, ‘आधी बाटो’ फिल्ममा एकसाथ काम गरेका छन् ।

अब यो जोडीको म्यूजिक भिडियोमा पनि सहकार्य हुन थालेको छ । सरगम राईको स्वरवद्ध ‘खुसी साटौ जुनी काटौ’ गीतमा सविन र अनुले पहिलो पटक काम गरेका थिए । फेरि उनीहरुले राईकै नयाँ गीत ‘भाकी सकेँ’मा काम गरेका छन्, जुन शनिवार रिलिज भएको छ । अघिल्लो गीतको सफलतापछि गायक राईकै इच्छाअनुरुप आफूहरुले नयाँ भिडियोमा काम गरेको सविन बताउँछन् ।

सविन र अनुले फिल्ममा काम नगरेको भने लामो समय भइसकेको छ । सविन राम्रो प्रोजेक्टबाट अफर आए आफूहरु सहकार्य गर्ने बताउँछन् । अहिले उनी तीनवटा प्रोजेक्टको तयारीमा छन् । यी फिल्ममा दर्शकले आफूलाई अहिलेसम्मकै फरक भूमिकामा देख्न पाउने उनको भनाई छ । यी ह्यान्डसम हंक आफैं पनि निर्देशक सविर श्रेष्ठसँग मिलेर नयाँ फिल्म निर्माणको तयारीमा छन् ।