Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

२४ वर्षपछि ‘द कमाण्डो’ हिरोको कमब्याक

फिल्मीखबर, काठमाडौं, 2022/12/04

सन् १९९९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द कमाण्डो’का अभिनेता राजकुमार राईले मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’बाट २४ वर्षपछि अभिनयमा पुनरागमन गरेका छन् । उनलाई यो कमब्याक फिल्मबाट ठूलो आशा र अपेक्षा छ । दर्शकले कथावस्तु र एक्सनमा नयाँ स्वाद पाउने उनको विश्वास छ । ट्रेलरले पनि त्यसको छनक भने दिन्छ ।

उनी ‘द सोल अफ कमाण्डो’लाई राष्ट्रियता जोडिएको फिल्म मान्छन् । ‘गोर्खाली सेनाका रूपमा ब्रिटिस आर्मीमा भर्ती हुने सैनिक किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथामा फिल्म निर्माण भएको छ । मेरो बुझाइमा नेपाल छ त गोर्खाली सेना छ । त्यसकारण नेपाल फर्किएपछि केही गर्नुपर्छ भन्ने उद्देश्यले ‘सोल अफ द कमाण्डो’ बनाएको हुँ’, राजकुमारले फिल्म निर्माणको उद्देश्य बताए ।

 

rajkumar rai


२४ वर्षपछि अभिनय ‘कमब्याक’ आफैंमा चुनौतीपूर्ण हो । तर, राजकुमार आफ्नो कमब्याकलाई चुनौती नै मान्दैनन् । उनी भन्छन्, ‘२४ वर्षपछि अभिनयमा फर्कंदा गाह्रो भएन । साँच्चै भन्ने हो भने झन् मज्जा आयो । ‘द कमाण्डो’पछि मैले पेशागत कारण फिल्ममा अभिनय गर्न सकिनँ । बरु मैले अभिनयको मामलामा पहिलाभन्दा केही परिपक्वता पाएँ । दर्शकहरुले पनि त्यो महसुस गर्नुहोला ।’

राईको परिचय अभिनेताको रुपमा मात्र सीमित छैनन् । उनी तेक्वान्दो खेलाडी हुन् । अवकाशप्राप्त ब्रिटिस आर्मी पनि हुन् । उनले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले अन्य कयैन् अन्तर्राष्ट्रिय खेलमा पनि पदक जितेका छन् ।

फिल्ममा राजकुमारसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राईको पनि अभिनय छ । युवराज (वीरबहादुर) राईद्वारा निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।