
द्वन्द्व निर्देशनमा स्थापित अष्ट महर्जनको डेब्यू निर्देशित फिल्म ‘गुञ्जन’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रविसा अधिकारी र आरिफ रफको स्वर, करणराज कार्कीको संगीत र सन्तोष पोखरेलको शब्द छ । गीतको भिडियोमा सारा सिर्पाली र प्रितमराज सेन्चुरी एकअर्कालाई सम्झिँदै प्रेमिल भावमा देखिएका छन् ।
आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कवीर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको पनि अभिनय छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । यो फिल्मको केही समयअघि सेन्सर पास भइसकेको छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा खिचिएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराजसँगै कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । फिल्मको वितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ ।

