Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.50/5.00)
Text size:-
+
-

४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी

फिल्मीखबर, काठमाडौं, 2022/12/02

santos sen

 

फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध चलचित्र निर्माता संघमा आर्थिक लेनदेनको विषयमा उजुरी परेको छ । भारतको सिक्किम निवासी राम गोपाल राईले मंसिर ११ गते संघमा निर्माता सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार फिर्ताको माग गर्दै उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता भएपछि निर्माता संघले सेनलाई छलफलका लागि संघको कार्यालयमा बोलाएको छ ।

राईले संघमा बुझाएको निवेदनमा निर्माता सेनसँग ‘प्रेमगीत ३’लाई मुम्बईमा हिन्दी स्वरांकन गरेर विश्वव्यापी रिलिज गर्ने विषयमा भेट भएको, निर्माता सेनले फिल्ममा १० करोड लगानी गर्न प्रस्ताव राखेको र सन् २०२० डिसम्बर ५ मा भारतको मुम्बईमा भेट गरेर फिल्मको वर्ल्डवाइड डिजिटल अधिकार लिने समझदारी गर्दै भारतीय ३ करोड (नेपाली ४ करोड ८० लाख) दिएको उल्लेख छ ।

सम्झौता लगत्तै विश्व कोभिडबाट आक्रान्त भएपछि आफूले मानविय हिसाबले रकम नमागेको राईले संघमा बुझाएको उजुरी पत्रमा भनिएको छ । फिल्म प्रदर्शनपछि सम्झौता अनुरुप आफूले पाउनु पर्ने फिल्मको डिजिटल प्लेटफर्म राइट्सको डिजिटल संकलन कपी उपलब्ध गराउन बारम्बार ताकेता गर्दा पनि निर्माता सेनले विभिन्न बहाना बनाएर सम्पर्कमा नआएको निवेदनमा उल्लेख छ ।

 

santos sen


राईले सन्तोष सेन, प्रदीप खड्का, ललित विष्टलाई मुम्बई जाँदा लागेको ४ लाख ५० हजार हवाई टिकटसहित ४ करोड ८४ लाख ५० हजार सेनबाट फिर्ता गराइदिन संघसँग आग्रह गरेका छन् । उनले सेनसँग भएको सम्झौताको प्रति पनि संघमा बुझाएका छन् । यतिबेला निर्माता सेन भारतमा रहेकाले उनी नेपाल फर्किएपछि दुई पक्षलाई बोलाएर छलफल गराउने तयारीमा निर्माता संघ छ ।

 

राम गोपाल राईले निर्माता संघमा उजुरी दर्ता गरेलगत्तै निर्माता सेनले पनि फेसबुकमार्फत् राईसँग भारतमा भएको सम्झौताको प्रति सार्वजनिक गरेका छन् ।