Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

रिस्ता र सुनिशाको ‘पासो’ हलमा, ‘महापुरुष’को दबदबा कायम

फिल्मीखबर, काठमाडौं, 2022/12/02

paso and mahapurus

 

संघीय निर्वाचन र फुटबलको महामेला (वर्ल्ड कप) का कारण मंसिर महिनामा फिल्म रिलिजको ताँती छैन । हप्तामा एउटा फिल्म पनि मुश्किलले रिलिज भइरहेका छन् । यसबीच, शुक्रवारबाट महिला प्रधान फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाँईको मुख्य भूमिका रहेको फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा उठान गरेको छ ।

ट्रेलरबाट केही आशा जगाएको यो फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ भने सिंगल थिएटरमा पनि उपस्थिति राम्रो छ । सोलो रिलिजको अवसर पाएकाले यसको फाइदा ‘पासो’को व्यापारमा पर्न सक्ने विश्लेषण गरिएको छ । तर, कमजोर प्रचार-प्रसारका बीच प्रदर्शनमा आएको यस फिल्मलाई हलसम्म दर्शक तान्न भने बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।

आरबी पुनको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । भगवान भुजेल निर्माता रहेको फिल्मको राजकुमार राउत कार्यकारी निर्माता, बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह-निर्मातामा छन् । उत्तम हुमागाँइले यो फिल्मको छायांकन गरेका हुन् ।

त्यस्तै, प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ले छैठौं हप्तामा पनि आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको चार हप्तामा १० करोड ग्रस कमाई गरेको फिल्मलाई छैठौं हप्तामा समेत मल्टीप्लेक्सहरुले राम्रो शो बाँडेका छन् । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन । यो फिल्मले सजिलै प्रदर्शनको ५१औं दिने यात्रा पार गर्ने निश्चित छ ।