आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आउने गरेका निर्देशक शोभित बस्नेतले मंसिर १२ गते आफ्नो एकमात्र छोरा सलोन बस्नेतको विवाह गरे । उनलाई छोराको विवाह भव्य रुपमा गर्ने ठूलो सपना थियो, जुन उनले पूरा गरेका छन् । सम्भवतः बस्नेत परिवारकै महंगो र भव्य विवाह सलोनको भएको हो । शोभितलाई अब छोरीको विवाह पनि सानदार रुपमा गर्ने सपना छ ।
छोराको विवाहको चटारोमा पनि विन्दास देखिएका उनले बुधवार काठमाडौंको एक पाँचतारे होटलमा आयोजित रिसेप्सन पार्टीमा नाति-नातिना खेलाउने इच्छा रहेको बताए । उनले भने, ‘सलोन बच्चा हुँदा मैले उसलाई कहिल्यै समय दिन पाइनँ । त्यसले गर्दा पनि सलोन बच्चा हुँदा दिन नपाएको समय म नाति-नातिनालाई दिन चाहन्छु । नाति-नातिना भएपछि म धेरै काम छोड्छु पनि ।’
उनले छोराको बिहेपछि आफू परिपक्व भएको बताए । तर, आफू कहिल्यै पाको नहुने भन्दै शोभितले ठट्टा पनि गरे । करिश्मालाई बुहारीको रुपमा पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्, शोभित । ‘बुहारीको रुपमा करिश्मालाई पाएकोमा आफैंलाई भाग्यमानी ठान्छु,’ उनले अगाडि भने, ‘दुई दिन अगाडिसम्म सलोन मेरो छोरा थियो, आज बुहारी पनि मेरो भएर थपिएको महसुस गरेको छु ।’
बस्नेत परिवारलाई आफ्नो ठानेर सधैं हाँसी-खुसी बस्न करिश्मासँग उनले आग्रह गरेका छन् । बुहारीसँग के माग्न चाहनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘म करिश्मासँग त्यस्तो केही माग्दिनँ । हाम्रो जस्तो हाँसी-खुसी बस्नेत परिवार छ, त्यसमा सधैं मिसिएर हाँसी-खुसी र बस्नेत परिवारलाई आफ्नो ठानेर बसिदिए पुग्छ ।’ करिश्माले पनि आफू हर सुःख-दुःखमा साथमै रहने वाचा गरिन् ।

