
पर्सी शुक्रबारबाट फिल्म ‘पासो’ रिलिज हुँदैछ । एकल रिलिज हुन लागेकाले फिल्मलाई केही राहत मिल्ने देखिन्छ । प्रचार-प्रसारमा निर्माण पक्षले खासै ध्यान नदिएको भए पनि ‘वर्ड अफ माउथ’ले हलमा दर्शक तान्नेमा अपेक्षा गरिएको छ । अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाँईले फिल्म बोकेका छन् । यसैले उनीहरुको करिअरका लागि नै यो फिल्म अत्यन्त महत्त्वपूर्ण र विशेष छ ।
‘पासो’मा काम गर्दाको दुःख रिस्ता र सुनिशा शब्दमा व्यक्त गर्न सक्दैनन् । एउटा बाकसभित्र १० दिनसम्म बन्द भएर काम गर्दा निकै गाह्रो भएको रिश्ताको अनुभव छ । उनी भन्छिन्, ‘फिल्ममा मैले १० दिन एउटा बाक्साभित्र बन्द भएर काम गर्नुपरेको थियो । फिल्म खिच्दै गर्दा मैले निर्देशकलाई ‘अब काम गर्न सक्दिनँ’ समेत भनेको थिएँ । केही पटक त पेन किलर खाएर पनि काम गरेँ ।’
त्यस्तै, सुनिशालाई ५ दिनसम्म हात र मुख बाँधेर काम गर्दाको क्षण सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छ । ‘५ दिनसम्म हात बाँधेर काम गर्दा म गलेको थिएँ । पहिलो पटक यति चुनौतीपूर्ण भूमिका निर्वाह गर्न पाएकोमा एकखालको रमाइलो पनि थियो । दर्शकलाई फिल्मले फरक स्वाद दिन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् । उनी पछिल्लो पटक फिल्म ‘प्रसाद’मा देखिएकी थिइन् ।
आरबी पुनको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । भगवान भुजेल निर्माता रहेको फिल्मको राजकुमार राउत कार्यकारी निर्माता, बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह-निर्मातामा छन् । उत्तम हुमागाँइले यो फिल्मको छायांकन गरेका हुन् ।

