Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

निर्देशक समाज बन्यो निर्देशकलाई जन्मदिनको शुभकामना दिने संस्था

फिल्मीखबर, काठमाडौं, 2022/11/30

Film Director's Guild of Nepal

 

आर्थिक रुपमा देश समृद्ध हुन नसके पनि नेपाल विभिन्न कुरामा भने अगाडि छ । यसमध्ये एक हो, संघ-संस्था गठन । सम्भवतः नेपालमा जति विभिन्न पेशा, धर्म, जातजातिको नाममा खोलिएका संघ-संस्था अन्य देशमा छैनन् । सरकारी कर्मचारीहरुको समेत संगठन छन् । नेपाली फिल्म क्षेत्रमा पनि संघ-संस्था बग्रेल्ती छन् । प्राविधिकदेखि द्वन्द्व निर्देशन गर्नेसम्मको आ-आफ्नै संस्था छन् ।

नेपाली फिल्म सम्बन्धि संघ-संस्थाहरु च्याउ उम्रेसरह भए पनि सक्रिय रुपमा आफ्नो सदस्यहरुको हकहितको पक्षमा काम गर्ने भने कम छन् । धेरैजसो संस्था र त्यसका पदाधिकारीहरु विभिन्न कार्यक्रमको अतिथी बनेरै कार्यकाल विताउँछन् । कति संघ-संस्थाको नाम त महाधिवेशनको बेला मात्र सुन्न पाइन्छ । अरु बेला ती संस्थाहरु कुन दुलोमा हुन्छन्, दिउँसै लालटिन बालेर खोज्नु पर्ने हुन्छ ।

फिल्म निर्देशकहरुको पनि एउटा संस्था छ, नेपाल चलचित्र निर्देशक समाज । यो समाजको उद्देश्य निर्देशकहरुको हकहित तथा संरक्षणका लागि लड्नु हो । तर, यो संस्थाको उद्देश्य अब परिवर्तन हुँदै गएको देखिन्छ । चुनावको बेला मात्र तात्ने गरेको निर्देशक समाजको आधिकारिक  फेसबुक पेज  हेर्ने हो भने संघका सदस्य (निर्देशक) लाई जन्मदिनको शुभकामना दिएका पोस्ट मात्र छन् ।

रक्षा सिंह राणा अध्यक्ष र जनकदीप पराजुली महासचिव रहेको यो संस्थाले वार्षिक उत्सवमा केही निर्देशकलाई सम्मान गर्नबाहेक अरु खासै काम गर्न सकेको छैन । काम देखिएको छ त मात्र फेसबुक पेजमा सदस्यलाई जन्मदिनको शुभकामना दिने । जे होस्, निर्देशक समाजले जन्मदिनको शुभकामना दिएरै भए पनि आफ्ना सदस्यलाई विर्सेको छैन । जन्मदिन याद गर्नु पनि ठूलै कुरा हो ।