अभिनेता आर्यन सिग्देल लभस्टोरी फिल्मकै लागि जन्मिएका हुन् भन्दा फरक पर्दैन । डेब्यू फिल्म ‘किस्मत’बाट नै उनले यो कुरा प्रमाणित गरेका थिए । उनले आफ्नो करिअरमा अभिनय गरेका र दर्शकले रुचाएका फिल्म हेर्ने हो भने लभस्टोरीको संख्या उच्च छ । यसैले पनि कुनै बेला लभस्टोरी फिल्मका लागि उनी निर्विकल्प झैं थिए । उनलाई फिल्ममा लिन मेकरहरु महिनौंसम्म कुर्थे ।
तर, केही वर्षयता उनको करिअर असन्तुलित बनेको छ । उनले आशा गरेका फिल्म सफल हुन सकेका छैनन् । यतिबेला उनको करिअरलाई सही बाटोमा ल्याउन एउटा सशक्त फिल्मको खाँचो छ । त्यो फिल्म ‘डिसेम्बर फल्स’ बन्ने विश्वास उनको छ । आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म दर्शकले आफूबाट राखेको अपेक्षाअनुरुप नै बनेको उनले दावी गरेका छन् ।
सोमवार फिल्मको पहिलो गीत ‘फकाउनै जानिनँ’ रिलिज कार्यक्रममा उनले भने, ‘दर्शकले मलाई ‘डिसेम्बर फ्ल्स’ जस्तै फिल्ममा हेर्न चाहेको हो भन्ने मेरो बुझाई छ । फिल्ममा प्रेमका लागि लडेको चरित्रमा जसरी मलाई दर्शकले रुचाउनुभयो त्यो यसमा पनि छ । फिल्ममा लभ र एक्सनको रामो तालमेल छ । निर्माताले मन नखुम्च्याई लगानी गर्नुभएको छ । फिल्म प्याकेजको बनेको छ ।’
आर्यनले केही एक्सन फिल्ममा पनि काम गरेका छन् । तर, ती दर्शकले रुचाएनन् । ‘डिसेम्बर फ्ल्स’को टिजरमा पनि एक्सन सिन बढी देखिन्छ । फेरि दर्शक निराश हुने त होइनन् ? भन्ने प्रश्नमा उनले भने, ‘यो फिल्ममा लभ, रोमान्स, एक्सन सबै छ । फिल्मबाट दर्शक निराश हुँदैनन् । म मेकरलाई पनि आर्यन सिग्देल भएपछि एक्सनमा पनि लभ चाहिन्छ भन्छु । त्यो चिज यसमा पनि छ ।’

