
सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘मोक्ष’ले व्यवसायिक सफलता हासिल गर्न नसकेता पनि समीक्षात्मक रुपमा राम्रै प्रशंसा कमाएको थियो । यो फिल्मलाई प्रविन श्रेष्ठले निर्देशन र सुनिल मानन्धरले निर्माण गरेका थिए । अब ८ वर्षपछि उनीहरुबीच नयाँ फिल्ममा टिमअप भएको छ । नाम गोप्य राखिएको फिल्मबाट प्रविनले निर्देशन र सुनिलले निर्माणमा कमब्याक गर्न लागेका हुन् ।
फिल्मको मुख्य भूमिकाका लागि महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अफर गरिएको छ । ‘महापुरुष’ जोडीसँग केही चरण भेट गरेर निर्देशक श्रेष्ठले स्क्रिप्ट सुनाइसकेका छन् । फिल्मलाई लिएर महजोडी सकारात्मक रहेको जानकारी प्राप्त छ । एक च्यारिटी कार्यक्रमका लागि अहिले अमेरिकामा रहेको महजोडीले नेपाल फर्किए लगत्तै फिल्म साइन गर्न सक्ने स्रोत बताउँछ ।
मानन्धरले आगामी मार्चबाट छायांकन गर्ने तयारी रहेको बताए । प्रविनप्रति आफूलाई विश्वास भएकाले फिल्म निर्माण गर्न लागेको उनको भनाई छ । ‘मलाई फिल्म बनाउन रुचि छैन । मैले आजसम्म जति पनि फिल्म बनाएँ, साथीभाईलाई सहयोग गर्ने हिसाबले बनाएको हुँ । प्रविनजी र म त झन् छिमेकी हौं । उहाँप्रति विश्वास पनि छ । त्यसैले फिल्ममा लगानी गर्न लागेको हुँ,’ उनले भने ।
एक दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी (मेरुदण्ड पक्षघात) भएका प्रविनले ‘मोक्ष’बाट आफूलाई सम्भावना बोकेको निर्देशकको रुपमा चिनाएका थिए । यो फिल्मबाट उनले कामना अवार्डमा नवनिर्देशकको अवार्ड समेत जिते । तर, यसपछि उनलाई फिल्म निर्देशनमा कमब्याक गर्न ८ वर्ष लागेको छ । उनले झन्डै एक सय म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन गरिसकेका छन् ।

