Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

के ‘स्टार’ निर्देशक हुन् प्रदीप भट्टराई ?

फिल्मीखबर, काठमाडौं, 2022/11/28

कस्तो फिल्म राम्रो र सफल हुन्छ ? यसको जवाफ एउटै हो, ‘दर्शकले मनपराएको ।’ किनकि, फिल्म दर्शकका खातिर बनाइन्छ । दर्शकले मन पराएनन् भने फिल्म सफल हुने कुरै आउँदैन । र, फिल्म भनेको निर्देशकको सोचअनुरुप बन्छ । निर्देशकले कामप्रति लापरवाही वा खेलाची गरे फिल्म बन्नु र नबन्नुको औचित्य रहँदैन । यसैले त निर्देशकलाई फिल्मको ‘क्याप्टेन अफ द सिप’ भनिन्छ ।

तर, फिल्म सफल भएपछि त्यसको श्रेय कलाकारलाई बढी जान्छ । किनभने, उनीहरु पर्दामा देखिन्छन् । तर, वास्तवमा यसको हकदार कलाकारभन्दा निर्देशक हुन्छ । फिल्मको सफलताको हकदार कलाकार नहुने भन्ने चाहिँ होइन तर निर्देशक बराबर पनि होइन । नेपालमा केही यस्ता निर्देशक छन्, जसले कलाकारभन्दा बढी सफलताको श्रेय पाउँछन् । त्यसमा पर्छन्, प्रदीप भट्टराई ।

 

Pradip Bhattarai


फिल्म ‘जात्रा’बाट निर्देशकको रुपमा सानदार उदय भएका उनले लगातार हिट फिल्म दिइरहेका छन् । उनी निर्देशित ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र यतिबेला प्रदर्शनरत ‘महापुरुष’ हिट छन् । लगातार चारवटा फिल्म सफल दिनु चानचुने कुरा होइन । यो प्रदीपको फिल्मप्रति लगाव, मिहेनत र इमानदारिताको प्रतिफलको हो । अहिले उनलाई हिटको ग्यारेन्टी गर्ने निर्देशक भन्न थालिएको छ ।

कलाकारको नाम र अनुहारले मात्र फिल्म चल्छ भन्ने परम्परागत मानकलाई भत्काउने निर्देशक पनि हुन्, प्रदीप । उनले आफ्ना चार फिल्मबाट दर्शकको यो हदसम्म विश्वास कमाएका छन् कि अब उनको नामले नै हलसम्म दर्शक तान्छ । ‘महापुरुष’ यसैको नतिजा हो । प्रदीपले हरेक फिल्ममा आफूलाई परिपक्व बनाउँदै लगेका छन् । यो भनेको उनी लामो रेसको घोडा बन्ने संकेत हो ।

कुनै कलाकारको फिल्म लगातार हिट भयो भने ‘स्टार’, ‘सुपरस्टार’ जस्ता ट्यागले सम्बोधन गरिन्छ । तर, सफल निर्देशकहरुलाई यस्ता उपाधि दिँइदैन । लगातार चार फिल्म सुपरहिट दिएपछि प्रदीप भट्टराईलाई भने यतिबेला ‘स्टार’ निर्देशक भन्न थालिएको छ । तर, उनी आफूलाई ‘स्टार’ मान्न तयार छैनन् । उनी भन्छन्, ‘स्टार भयो भने धेरै माथि जानुपर्छ । मलाई भूईंमा नै टेकेको मनपर्छ ।’

सर्लाही रैथाने प्रदीपले मह सञ्चारबाट निर्देशनको कखरा सिकेका हुन् । मह सञ्चारले निर्माण गरेका दर्जनौं हास्य टेलिसिरियलमा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई निर्देशनमा सघाए । मह सञ्चारबाट बटुलेको अनुभव यतिबेला उनलाई फिल्ममा काम लागिरहेको छ । कमेडी जनरामा समाजभित्रको गम्भीर विषय उठाएर प्रस्तुत गर्ने निर्देशकको रुपमा उनको चिनारी बनेको छ ।