
अभिनेता धिरज मगरले पारिश्रमिक मिलाइदिएको भए निर्देशक झरना थापाले दशैं लगत्तै फिल्म ‘भगवत् गीता’को छायांकन सुरु गरिसकेकी हुने थिइन् । तर, धिरजले ४० लाखभन्दा तल काम नै नगर्ने अडान लिएपछि अब झरनाले अडिसनबाट हिरो छनोट गर्ने भएकी छन् । आइतवार एक पोस्टर जारी गर्दै फिल्मको मुख्य नायक र बाल कलाकारका लागि अडिसन आह्वान गरिएको छ ।
निर्माण टिमले २० देखि २५ वर्ष उमेर समुहको पुरुष कलाकार र ८ देखि १० वर्ष उमेर समुहको पुरुष बाल कलाकार खोजेको हो । [email protected] मा आफ्नो परिचयसहितको एक मिनेटको भिडियो, ह्वाट्सएप नम्बर र इमेल आइडी पठाउन आग्रह गरिएको छ । आगामी डिसेम्बर ७ (मंसिर २१) सम्म अडिसनका लागि आवेदन दिन सकिने पोस्टरमा उल्लेख छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, हिरोको अभावले फिल्मको छायांकन धकेलिएको धकेल्यै छ । अब अडिसनबाट हिरो छनोट हुनसाथ छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । यो फिल्ममा छनोट हुने हिरोले ‘स्टार’ अभिनेत्री सुहाना थापासँग स्क्रिन साझेदारी गर्ने अवसर पाउनेछन् ।
सुनिल कुमार थापाको निर्माण रहने फिल्म अन्तरजातीय प्रेमकथामा बन्न लागेको हो । सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहने फिल्म जनकपुर र दार्चुलामा छायांकन हुने जानकारी प्राप्त छ । बैशाख १ मा ‘भगवत् गीता’को भिडन्त विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’सँग हुँदैछ ।

