Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सलोनको हातमा करिश्माको नामको मेहेन्दी

फिल्मीखबर, काठमाडौं, 2022/11/27

salon basnet

 

मंसिर १२ गते अभिनेता सलोन बस्नेतले जीवनको नयाँ अध्याय सुरु गर्दैछन् । एयर होस्टेस करिश्मा केसीसँग उनको विवाह हुँदैछ । ४ वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गर्न लागेको हो । निर्देशक शोभित बस्नेतले आफ्नो छोराको बिहे भव्य बनाउन कुनै कसर छाडेका छैनन् । उनले मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा छोराको रिसेप्सन पार्टी दिँदैछन् ।

शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो । जहाँ करिश्माले हातमा लगाएको मेहेन्दीमा आफ्नो नाम खोज्न सलोन परिवार र साथीभाईको साथमा पुगेका थिए । त्यहाँ सलोनले पनि आफ्नो हातमा मेहेन्दीले करिश्माको नाम लेखे । मेहेन्दी कार्यक्रम सकिएपछि साँझपख केटा र केटी पक्षबाट घन्टौंसम्म नाचगाना भएको थियो ।

उक्त कार्यक्रममा सलोन र शोभित निकट केही कलाकारहरुको पनि उपस्थिति थियो । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए भने वर्षा राउत र संयोग कोइराला, प्रेम जोडी पूजा शर्मा र युद्ध बानियाँ, सलिनमान बानियाँ, आमेश भण्डारीलगायत पनि उपस्थित थिए । त्यहाँ सलोन र करिश्माले केही गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

एकातिर सलोन विवाहको रमझममा व्यस्त रहँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ । तर, दर्शक अभावले यो फिल्मलाई एक हप्ता पनि हलमा टिक्न मुश्किल पर्ने देखिन्छ । सलोनलाई भने फिल्म नचलेकोमा पिर छैन । बिहेपछि उनी पिता शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय होस्’मा काम गर्ने तयारीमा छन् । उनको हातमा अन्य केही फिल्म पनि छन् ।