
हलमा हेर्न छुटेका फिल्महरु युट्युबमा पर्खिने धेरै हुन्छन् । त्यसैले कुनै नेपाली फिल्म युट्युबमा रिलिज भयो भने आक्रामक भ्यूज पाउने गर्छन् । अब युट्युबभन्दा अगाडि टेलिभिजनमा नेपाली फिल्म हेर्न पाइने भएको छ । हालसालै प्रशारण सुरु भएको नेपाल नेटवर्क टेलिभिजनले दर्शकलाई आकर्षित गर्ने उद्देश्यसहित नेपाली फिल्म प्रशारण गर्ने भएको छ, त्यो पनि रुचाइएका फिल्महरु ।
डिएआर मुभिजको सहकार्यमा हरेक शुक्रबार राति ९ बजे नेपाल नेटवर्क टेलिभिजनमा फिल्म प्रशारण हुने टेलिभिजनका सिइओ दिनेश डिसीले जानकारी दिए । हिजो शुक्रबार अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘तान्द्रो’ प्रशारण भएको थियो । आउँदो महिनाबाट भने हलमा रुचाइएका फिल्महरु ‘चिसो मान्छे’, ‘ईन्टु मिन्टु लण्डनमा’, ‘प्रेमगीत ३’ र ‘झिँगेदाउ’ क्रमशः रिलिज हुनेछन् ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित ‘चिसो मान्छे’ले राम्रो समीक्षा पाएको थियो भने रेनशा वान्तवा राई निर्देशित ‘ईन्टु मिन्टु लण्डनमा’ हिट फिल्म हो । त्यस्तै, छेतेन गुरुङ र सन्तोष सेन निर्देशित ‘प्रेमगीत ३’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ यस वर्षका सुपरहिट फिल्म हुन् । फिल्म हेर्नका लागि दर्शकले कुनै पनि शुल्क तिर्नु नपर्ने डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

