
मोरङ क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी लोकप्रिय अभिनेत्री रेखा थापा पराजित भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले जित निकाल्दा उनले हार बेहोर्नु परेको हो । ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दै शर्मा विजयी हुँदा रेखाले १० हजार ९ सय ८९ मत प्राप्त गरिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २५ हजार ८ सय ९५ मत खसेको थियो ।
पहिलो पटक संघीय निर्वाचनमा प्रतिस्पर्धा गरेकी रेखाले पराजय बेहोरेपछि फेसबुकमा स्टाटस लेख्दै राजनीतिमा जित्नु वा हार्नुको अर्थ नरहने बताएकी छन् । उनले निर्वाचित उम्मेदवार शर्मालाई बधाई दिँदै लेखेकी छन्, ‘मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाई र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सु:ख-दु:खमा उहाँ सँधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु ।’
आफूलाई माया र विश्वास गरेर मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिँदै रेखाले निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको उल्लेख गरेकी छन् । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक नभए पनि निर्वाचित एक जना मात्र हुने बताउँदै उनले अगाडि लेखेकी छन्, ‘राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि ।’
रेखाले सांसद मात्र बन्ने चाहना भएको भए प्रत्यक्षमा नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर रहँदा पनि आफूले त्यसको लोभ नगरी प्रत्यक्ष उम्मेदवार दिएको बताएकी छन् । निर्वाचनमा पराजित भए पनि मोरङ क्षेत्र नं. ३ का हरेक सुःख-दुःख बाँड्न आफू सधैं साथमा हुने उनको वाचा छ । निर्वाचनबाट निर्वाचित सुनिल शर्माका राम्रा काममा काँधमा काँध मिलाउने र बाटो विराए विना हिच्किचाहट खबरदारी गर्ने उनको भनाई छ ।
उनी अगाडि लेख्छिन्, ‘मोरङ ३ का बासिन्दाहरू यसपटक निर्वाचन जितेर तपाईँहरुका आवाज संसदमा राख्ने अवसर नपाए पनि तपाईँले अब आफ्ना आवाज थप बलियो बनाउने मान्छेका रुपमा मलाई पाउनुहुनेछ । हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।’ चुनावी कार्यक्रममा रेखाप्रति देखिएको जनलहरले उनलाई बलियो प्रतिस्पर्धीको रुपमा लिइएको थियो । तर, मत गणनाको सुरुवातदेखि नै तेस्रो स्थानबाट उक्लन नसकेकी रेखा अन्ततः पराजित हुन पुगेकी छन् ।

