
निर्मता रमेश एमके पौडेलको डेब्यू निर्देशित लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । शुक्रवार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक भएको १ मिनेट ३० सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । टिजरमा साम्राज्ञीलाई पुष्पको प्रेममा क्रेजी देखाइएको छ ।
फिल्ममा पुष्प र साम्राज्ञीका साथै सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ भने विशेष भूमिकामा बेलायतमा बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् । यो फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शन हुँदैछ । यसअघि फिल्ममा समावेश ‘रुमाल बाटेर टाई बनाम’ बोलको डान्सिङ गीत सार्वजनिक गरिएको थियो ।
फिल्ममा निर्देशक पौडेलको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन र सुभाष भुसाल/योगेश काजीको संगीत छ ।

