
सुपरस्टार अजय देवगन अभिनीत फिल्म ‘दृश्यम २’ले भारतीय बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि कमाईमा उछाल कायम गरेको फिल्मले एक हप्तामै सय करोडको आँकडा छुन सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत् फिल्मले एक हप्ताकै अवधिमा १०४ करोड ६६ लाखको व्यापार गरेको जानकारी दिएका छन् ।
फिल्मले पहिलो दिन १५ करोड ३८ लाख, दोस्रो दिन २१ करोड ५९ लाख, तेस्रो दिन २७ करोड १७ लाख, चौंथो दिन ११ करोड ८७ लाख, पाँचौं दिन १० करोड ४८ लाख, छैठौं दिन ९ करोड ५५ लाख र सातौं दिन ८ करोड ६२ लाखको सानदार कमाई गरेको छ । ५० करोडको हाराहारीमा निर्माण भएको फिल्मले प्रदर्शनको चार दिनमा नै भारतीय बजारबाट लगानी सुरक्षित गरेको थियो ।
पहिलो हप्ता फिल्मले गरेको कमाईको रफ्तार हेर्ने हो भने दोस्रो हप्ता पनि आक्रामक रहने देखिन्छ । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मको व्यापार पनि बलियो भएको हो । ट्रेड एनालिस्टहरुले ‘दृश्यम २’को लाइफटाइम कलेक्सन भारतमा मात्रै १७०-८० करोडको आसपास हुने अनुमान गरेका छन् । यो फिल्मको पहिलो श्रृंखलाको लाइफटाइम कलेक्सन भने ६७ करोड मात्र थियो ।
फिल्ममा तब्बू, श्रिया सरन, अक्षय खन्ना, इशिता दत्ता, मृणाल जाधवलगायतको पनि अभिनय छ । आईजी मीरा (तब्बु) को छोराको हत्याको रहस्य पत्ता लगाउन प्रहरी (अक्षय खन्ना) ले मीरासँग मिलेर चालेको चाल र विजय सलगांवकर (अजय देवगन) ले छोरी र परिवारलाई बचाउन गरेको संघर्षमा फिल्म आधारित छ । यस फिल्मलाई अभिषेक पाठकले निर्माण तथा निर्देशन गरेका हुन् ।

