Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

के प्रदीप खड्काले बलिउड फिल्म गर्दैछन् ?

फिल्मीखबर, काठमाडौं, 2022/11/24

pradeep khadka

 

फिल्म ‘प्रेमगीत’बाट सानदार रुपमा उदय भएका प्रदीप खड्का यतिबेला करिअरको उत्कर्षमा छन् । ‘प्रेमगीत’कै तेस्रो सिरिजले उनलाई सफलताको उचाईंमा पुर्‍याएको हो । हिन्दीमा डब भएर भारतको हलमा समेत प्रदर्शन भएको ‘प्रेमगीत ३’ले नेपालमा ठूलो कमाई गर्‍यो । भारतमा भने फिल्मले आशातित कमाई गरेन । तर, भारतीय बजारमा नेपाली फिल्मका लागि ढोका खोलेको छ ।

भारतमा ‘प्रेमगीत ३’को प्रचारको क्रममा आफ्नो वाकपटुताले भारतीयको मन जितेका प्रदीपको बलिउडकर्मीहरुसँग पनि गजबको हिमचिम बढेको छ । उनी बलिउड फिल्मको प्रिमियरमा समेत सहभागी हुन थालेका छन् । बोल्ने शैली र चकलेटी लुक्सले कयैन् बलिउडका निर्माता-निर्देशकको ध्यान तानेका उनको ‘प्रेमगीत ३’को हिन्दी डब प्रदर्शन भएयता भारत आउ-जाउ बाक्लिएको छ ।

सङ्घीय निर्वाचनअघि उनी केही हप्ता भारत बसेर फर्किएका थिए । भोट हाले लगत्तै उनी फेरि भारत गएका छन् । उनले आफ्नो इन्स्टाग्राममार्फत् आफू यतिबेला गोवामा रहेको जानकारी दिएका छन् । उनको भारतमा बढ्दो बसाईं एउटा बलिउड प्रोजेक्टका लागि रहेको स्रोतको दाबी छ । सम्भवतः केही हप्तामा प्रदीपले एक बलिउड फिल्म साइन गरेको खबर सार्वजनिक हुन सक्नेछ ।

दशकौंदेखि बलिउडमा चकलेटी अभिनेताहरुको बोलबाला रहेकाले ‘प्रेमगीत ३’को हिन्दी भर्सनबाट भारतमा केही हदसम्म फ्यान फलोइंग पनि बनाएका प्रदीप बलिउड मेकरका लागि अब एउटा विकल्प बन्न सक्नेछन् । उनले बलिउड फिल्ममा काम गर्नका लागि तत्काल नयाँ नेपाली फिल्म साइन नगरेको जानकारीमा छ । अब उनी बलिउड फिल्म साइन गरेरै नेपाल आउने बताइन्छ ।

नेपालमा चकलेटी अभिनेताहरुमध्ये प्रदीप अभिनयमा अब्बल मानिन्छन् । यो कुरा उनले फिल्म ‘प्रकाश’बाट थप प्रमाणित गरे । सम्भवतः अब उनले निर्माता सन्तोष सेनकै नयाँ फिल्ममा काम गर्न सक्नेछन् । ‘प्रकाश’का निर्देशक दिनेश राउत पनि उनलाई लिएर अर्को एउटा फिल्म बनाउने योजनामा छन् । ‘प्रेमगीत ३’पछि उनलाई लिएर अन्य धेरै मेकरहरु फिल्म बनाउन इच्छुक छन् ।