Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म रिलिजको मुखमा, सलोनलाई बिहेको चटारो

फिल्मीखबर, काठमाडौं, 2022/11/24

salon basnet

 

मंसिर १२ गते अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिदैछन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गर्न लागेका हुन् । उनीहरु करिब ३/४ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा थिए । विवाहको मिति नजिकिँदै गर्दा यतिबेला सलोनलाई भ्याइनभ्याइ छ । बुधवारबाट उनको विवाहको कार्यक्रम पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्स रिसोर्टमा सुरु भएको छ ।

सलोनलाई विवाहसँगै फिल्म रिलिजको चटारो पनि छ । भोली शुक्रवारबाट उनी अभिनीत नयाँ फिल्म ‘मिलन’ प्रदर्शनमा आउँदैछ । निर्माण टिमले प्रचार-प्रसारमा खासै ध्यान नदिएकाले सलोनलाई विवाहकै तयारीमा जुट्न सजिलो भएको छ । उनले विवाहको तयारीमा समय दिनुपर्ने भएकाले मंगलवार नै फिल्मको प्रिमियर गरिएको थियो । अब उनको तन, मन, धन बिहेमै केन्द्रित हुनेछ ।

जीवनको नयाँ अध्याय सुरु गर्न लागेका सलोनका लागि ‘मिलन’ले व्यावसायिक सफलता प्राप्त गरे यस वर्ष स्मरणीय बन्नेछ । तर, मल्टीप्लेक्समा पाएको कमजोर शो र दयनीय प्रचारका कारण फिल्मले इनिसियल व्यापार सुखद् गर्ने सम्भावना देखिन्न । अर्कोतिर बलिउड फिल्म ‘भेडिया’सँग भिडन्त हुँदैछ । यो अवस्थामा ‘मिलन’लाई अत्यन्त बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।

बाल्यकालदेखि फिल्म अभिनयमा सक्रिय रहेका सलोनले अहिलेसम्म ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । विवाहपछि पनि उनी अभिनयमा उतिक्कै सक्रिय हुने बताउँछन् । विवाह लगत्तै उनले पिता शोभित बस्नेतले निर्माण गर्न लागेको नयाँ फिल्म ‘जय हो’मा काम गर्नेछन् । मंसिर १४ गते उनले आफन्त, साथीभाई र फिल्म क्षेत्रका व्यक्तिहरुका लागि रिसेप्सन पार्टी दिँदैछन् ।