Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता छविराज ओझाले अब बिहे नगर्ने

फिल्मीखबर, काठमाडौं, 2022/11/23

निर्माताको रुपमा अत्यन्त सफल छविराज ओझाको वैवाहिक जीवन भने उतार-चढावपूर्ण छ । जेठी श्रीमती गिताञ्जली सुनुवारको निधनपछि छविले हेमा ओझासँग दोस्रो विवाह गरेका थिए । हेमाबाट एक सन्तान भएपछि उनीहरुको सम्बन्ध विग्रियो । त्यसपछि ओझाले रेखा थापासँग तेस्रो विवाह गरे । रेखासँग पनि उनको सम्बन्ध टिकेन । त्यसपछि उनले शिल्पा पोखरेललाई घर भित्राए ।

विवाह बन्धनमा बाँधिएर एउटै घरको छतमुनि बस्न थालेको वर्षौं भइसके पनि छवि र शिल्पाले आफ्नो फिल्म रिलिजको बेला फन्डा गर्न बिहेको कुरा लुकाएर राखेका थिए । तर, जब शिल्पाले २०७६ सालमा प्रहरी कार्यालयमा छविविरुद्ध घरेलू हिंसाको आरोपमा उजुरी दिइन् तब मात्र उनीहरुको बिहे भइसकेको कुरा छताछुल्ल भयो । त्यसयता छवि र शिल्पा अलग-अलग बस्दै आएका छन् ।

 

chhabi raj ojha


एउटा घरजम टुट्नसाथ अर्को विवाह गरिहाल्ने छवि चौंथो घरबार पनि बिग्रिएपछि अब विवाह नगर्ने मनस्थितिमा छन् । बुधबार ५८ वर्षको जन्मदिन बनाउने क्रममा उनले अब विवाह नगर्ने घोषणा नै गरे । पत्रकार अनुप भट्टराईले ओझाको बर्थ-डे सेलिब्रेसन फेसबुकमा लाइभ गर्ने क्रममा एक व्यक्तिले विवाहको बारेमा सोधेको प्रश्नमा उनले हाँस्दै भने, ‘अब विवाह कहिल्यै खाना पाइन्न ।’

अर्का एक व्यक्तिले प्रतिनिधिसभामा रेखा थापाको कमजोर मत परिणामबारे जिज्ञासा राख्दा ओझाले रेखालाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जित र हार भन्ने कुरा भइरहन्छ । त्यसबाट आत्तिनु हुन्न । फिल्मबाट उहाँ राजनीतिमा जानुभएको छ । राजनीतिमा ग्राउन्ड लेभलबाट अगाडि बढ्दै जानुपर्ने हुन्छ । अबको पाँच वर्षपछिका लागि उहाँले ग्राउन्ड लेभलबाट आफूलाई तयार गर्नुपर्छ ।’

त्यस्तै, अर्का एक व्यक्तिले रा.स्व.पाका सभापति तथा पूर्व पत्रकार रवि लामिछानेको जीवनीमाथि फिल्म बनाउन आग्रह गर्दा उनले दर्शकबाट माग आए आफू तयार रहेको बताए । चाँडै ओझा निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर नयाँ फिल्म ‘जेल ब्रेकर’ बनाउँदैछन् । यो फिल्म एक किताबमाथि आधारित भएर निर्माण हुनेछ । जेलको भित्ता तोडेर भाग्ने कैदीको कथामाथि फिल्म बन्न लागेको हो ।