Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘मिलन’ प्रिमियर : शोभित भन्छन्, ‘फिल्म भयंकर राम्रो छ’

फिल्मीखबर, काठमाडौं, 2022/11/23

यही शुक्रवार अर्थात् मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘मिलन’को प्रदर्शनको तीन दिन अगावै गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । मंगलबार साँझ कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा उपस्थित पाहुनाहरुले फिल्मको कथावस्तु, कलाकारको अभिनय, छायांकन पक्ष, गीत-संगीतको प्रशंसा गरेका थिए ।

 

meelan premier 3


कलाकार तथा निर्देशक नीर शाहले युवापुस्ताको ध्यान तान्ने गरी फिल्म निर्माण भएको बताए । ‘फिल्मले दर्शकलाई हँसाउन र भावुक बनाउन सक्छ,’ उनले भने, ‘नेपालमा बनेका हरेक फिल्मले सफलता हासिल गर्नुपर्छ । हामीले फिल्मको प्रिमियरलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौं । त्यो खुसीको कुरा हो ।’ शाहले नेपाली फिल्म क्षेत्र ठूलो बन्दै गएकोमा खुसी पनि साटे ।

अर्का निर्देशक शोभित बस्नेतले फिल्म राम्रो बनेकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । बस्नेतले भने, ‘फिल्म सामान्य होइन भयंकर राम्रो बनेको छ । मैले दोस्रो पटक फिल्म हेरेको हुँ । केही ठाउँमा त आँसुलाई कन्ट्रोल नै गर्न सकिन्न । फिल्म मनछुनेसँगै रमाइलो पनि छ ।’ धेरैपछि छोरा सलोन बस्नेतलाई राम्रो रोलमा प्रस्तुत गरेकोमा उनले निर्माता र निर्देशकलाई धन्यवाद पनि दिए ।

एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारलाई फिल्मले प्रस्तुत गरेको छ । प्रिमियरमा नवअभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको अभिनयको प्रशंसा भएको थियो भने तेस्रोलिंगीको भूमिका निभाएका सुमिन गुरुङको कामको पनि चर्चा भएको थियो । सलोन बस्नेतले त हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका छन् र ‘मिलन’को प्रिमियरमा पनि त्यो टुटेन ।

 

meelan premier 3


टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रविन थापा हुन् । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत, राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन र कुमार महर्जनको द्वन्द्व निर्देशन छ । काठमाडौं र कालिन्चोकमा फिल्म खिचिएको हो ।