नेपाली फिल्मकी सर्वाधिक सफल अभिनेत्री रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जित निकाल्न अत्यन्त मुश्किल देखिएको छ । प्रारम्भिक मत गणनादेखि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निक्कैले पछि परेकी उनले आधा बढी मत गनिसक्दा पनि ४ हजार मत कटाउन सकेकी छैनन् । उनी बुधवार ११ बजेसम्ममा २ हजार ९ सय ९६ मत प्राप्त गर्दै तेस्रो नम्बरमा छिन् ।
आक्रामक मत पाउँदै पहिलो नम्बरमा कांग्रेसका डा. सुनिल शर्मामा छन् । उनले १३ हजार ९ सय ३१ मत प्राप्त गरेका छन् भने ८ हजार ७ सय ४६ मतसहित एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् । रेखाको मत कांग्रेसका उम्मेदवार शर्माभन्दा करिब ४ गुणा कम छ भने एमाले उम्मेदवार ढकालभन्दा लगभग ३ गुणा कम छ । उनले पाएको मतलाई अत्यन्त कमजोर मानिएको छ ।
मत परिणामको अवस्था हेर्दा अब रेखाका लागि जित धेरै नै टाढा बनेको छ । चुनावअघि आक्रामक प्रचार-प्रसार गरेकी उनीप्रति युवापुस्ता र महिलाहरुमा गजबको आकर्षण देखिएको थियो । तर, त्यो आकर्षण सेलिब्रेटी भएकाले मात्र रहेछ भन्ने मत परिणामले पुष्टि गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी रेखा मत परिणामले निराश छिन् ।
रेखा मात्र होइन, अन्य सेलिब्रेटी उम्मेदवारको पक्षमा पनि अपेक्षित मत परिणाम छैन । प्यूठान प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका निर्माता, निर्देशक तथा कलाकार रोज राणा एमालेका हरि रिजालभन्दा झन्डै ९ सय मतले पछाडि छन् । त्यस्तै, दाङ क्षेत्र नं. ३ मा गायिका तथा अभिनेत्री कोमल वली, धादिङ क्षेत्र नं. १मा कमेडियन हिमेश पन्त पनि मत परिणाममा पछि छन् ।

