Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.00/5.00)
Text size:-
+
-

६० लाख बढीमा बिक्री भयो ‘छक्का पञ्जा ४’को डिजिटल राइट्स

फिल्मीखबर, काठमाडौं, 2022/11/23

deepakraj giri

 

नेपाल फिल्मको इतिहासमा सर्वाधिक मूल्यमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहको फिल्म ‘छक्का पञ्जा ४’को डिजिटल राइट्स (यूट्युब) बिक्री भएको छ । मंगलवार ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल र निर्माता दीपकराजबीच डिजिटल राइट्स खरिद-बिक्रीको सम्झौता पत्रमा हस्ताक्षर भयो । फिल्मको डिजिटल राइट्सको बिक्री मूल्य गोप्य राखिएको छ ।

तर, फिल्मीखबरलाई स्रोतले दिएको जानकारी अनुसार ६० लाखभन्दा बढी मूल्यमा फिल्मको डिजिटल राइट्स बिक्री भएको हो । यसअघि यो मूल्यमा कुनै नेपाली फिल्मको डिजिटल राइट्स बिक्री भएको थिएन । प्रदर्शन अगावै डिजिटल राइट्सबाट ‘छक्का पञ्जा ४’को आधाउधि लगानी सुरक्षित भएको छ । यसअघि यो फिल्मका तीनवटै सिरिज हाइलाइट्स नेपालले खरिद गरेको थियो ।

आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्मको अझै केही प्रतिशत छायांकन गर्न बाँकी छ । हेमराज विसीद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतको अभिनय रहेको छ । यस फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । ‘छक्का पञ्जा’का अघिल्ला तीनटै सिरिजले कमाईमा एकसेएक रेकर्ड बनाएका थिए । तर, यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले सर्वाधिक कमाईको ऐतिहासिक रेकर्ड बनाएपछि ‘छक्का पञ्जा ४’लाई चुनौती थपिएको छ । यद्यपि, फिल्मले सफलता हासिल गर्नेमा भने दुईमत छैन ।