.jpg)
राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापालाई मोरङ ३ मा कांग्रेस र एमालेका उम्मेदवारलाई मतमा उछिन्न सकस परेको छ । प्रारम्भिक मत परिणाममा उनी तेस्रो छिन् । ६ हजार ३ सय ६३ मत गनिसक्दा उनको पक्षमा ९ सय ५ मत झरेको छ । कांग्रेसका डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित पहिलो र १ हजार ५ सय ७९ मत प्राप्त गर्दै एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् ।
चुनावी प्रचारको क्रममा रेखाको चर्चाका कारण कांग्रेस र एमालेका उम्मेदवार ओझेलमा परेका थिए । उनको प्रवेशले मोरङ ३ को चुनावी प्रतिस्पर्धा रोचक बनेको थियो भने युवापुस्ता र महिलाहरुमा उनको आकर्षण गजब देखिएको थियो । तर, प्रारम्भिक मत परिणाम रेखाको विपक्षमा आएको छ । अझै ठूलो मात्रामा मत गन्न बाँकी रहेकाले थापा आफूले जित हासिल गर्नेमा विश्वस्त छिन् ।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा चुनाव लड्ने निर्णय गरेपछि रेखा दशैंभन्दा अगावैदेखि मोरङ ३ का जनतामाझ पुगेकी थिइन् । उनले त्यहाँका मतदाताको समस्या बुझ्दै चुनाव जितेपछि समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनी सहभागी हुने चुनावी सभा र घरदैलोमा उल्लेख्य मात्रामा मतदाताको उपस्थिति रहने गरेको थियो । आफूप्रति देखिएको जनलहरले रेखा पनि उत्साहित थिइन् ।
मोरङ ३ मा रेखा आबद्ध पार्टीको संगठन बलियो छैन । त्यसकारण उनलाई आफ्ना विचार र पार्टीको एजेन्डाबाट जनताको विश्वास जित्दै त्यसलाई मतमा परिणत गर्नुपर्ने ठूलो चुनौती थियो । यसअघि यो क्षेत्रबाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । त्यसैले मोरङ ३ एमालेको किल्ला मानिन्थ्यो । तर, यस क्षेत्रको प्रारम्भिक मत रुझान हेर्दा कांग्रेसका शर्मा बलियो देखिएका छन् ।

