
२०२२ मा एकपछि अर्को आशातित फिल्मले निराशाजनक प्रदर्शन गरेपछि संकटमा परेको बलिउडलाई अभिनेता अजय देवगन र अभिनेत्री तब्बु स्टारर फिल्म ‘दृश्यम २’ले ठूलो राहत दिने देखिएको छ । १५ करोड ३८ लाखको सानदार ओपनिङ गरेको फिल्मले दोस्रो दिन व्यापारमा ४० प्रतिशत बढोत्तरी कायम गर्यो । दोस्रो दिन आइतबार फिल्मले २१ करोड ५९ लाख कमाई गरेको छ ।
दुई दिनमै ३६ करोड ९७ लाख कमाएको फिल्मले पहिलो विकेन्डमा ४५ करोडसम्म व्यापार गर्ने देखिएको छ । ‘दृश्यम २’ले अजय अभिनीत सुपरस्टार फिल्म ‘तान्हाजी’भन्दा ठूलो ओपनिङ गरेको छ । ‘तान्हाजी’ले पहिलो दिन १५ करोड १० लाख कमाएको थियो । बलियो ‘वर्ड अफ माउथ’ पाएको फिल्मले दोस्रो विकेन्डसम्ममा सय करोडको आँकडा पार गर्न सक्ने सम्भावना देखिएको छ ।
क्राइम तथा सस्पेन्स जनरामा निर्माण भएको यो फिल्ममा अजय र तब्बुसँगै श्रिया सरन, अक्षय खन्ना, इशिता दत्ता, मृणाल जाधवको पनि मुख्य भूमिका रहेको छ । फिल्म २ र ३ अक्टोबरकै वरिपरि घुमेको छ । बिल्स, सीडी र स्वामी चिन्मयानन्दको महासत्संगसँग जोडिएको राजमा फिल्म केन्द्रित छ । पहिलो हाफ सुस्त भए पनि दोस्रो हाफ बलियो रहेको समीक्षक तथा दर्शकले बताएका छन् ।
यसअघि अजय देवगनको ‘मेडे’ र ‘थ्यांक गड’ बक्सअफिसमा असफल भएका थिए । उनको केमियो रहेको ‘गंगुवाई काठियावाडी’, ‘आरआरआर’ भने सफल रहे । ‘दृश्यम २’ले उनलाई ठूलो राहत दिएको छ । यो फिल्मको अघिल्लो श्रृंखला बक्सअफिसमा सफल भएकाले पनि यसको सिक्वेलको दर्शकमा ठूलो प्रतिक्षा थियो । फिल्मको सस्पेन्स पाटोलाई दर्शकले अत्याधिक मन पराएका छन् ।

