अघिल्ला निर्वाचनमा उम्मेदवारहरुको पक्षमा सेलिब्रेटीहरु उत्तिसाह्रो खुल्ने गरेका थिएनन् । तर, यसपालि स्थानीय र सङ्घीय दुवै चुनावमा सेलिब्रेटीहरु विभिन्न उम्मेदवारको पक्षमा उभिए । यो भीडमा सबैभन्दा अगाडि देखिए, कलाकार निर्मल शर्मा । स्थानीय तहको निर्वाचनमा बालेन शाहलाई समर्थन गरेका उनले सङ्घीय निर्वाचनमा विभिन्न युवा उम्मेदवारहरुका लागि मत मागेका थिए ।
यसपालिको स्थानीय तहको निर्वाचनदेखि राजनीतिप्रति चासो दिन थालेका उनी आगामी चुनावमा आफैं उम्मेदवार बन्ने योजनामा रहेछन् । आइतवार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो क्षेत्रको मतदानस्थलबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू पनि राजनीतिमा आउनु पर्छ भन्ने निर्णयमा पुगेको र आगामी चुनावसम्म आफूलाई तयार गर्ने बताए ।
.jpg)
उनले भने, ‘राजनीतिबाट टाढा बस्छु भन्ने मेरो सोच छैन । म पनि राजनीतिमा आउँछु भन्ने नै छ । अहिलेसम्म पार्टी रोजिसकेको छैन तर अहिले जुनप्रकारको वातावरण सृजना भएको छ त्यसले अब म पनि राजनीतिमा आउनु पर्छ भन्ने मनस्थिति चाहिँ निर्माण भएको छ । आगामी निर्वाचनसम्ममा म आफूलाई पनि तयार गर्छु । अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा हेर्न पाइन सक्छ ।’
समृद्ध देश, सुदृढ समाज र सुशासनको चाहना राख्नेहरुका लागि यसपालिको मतदान महत्त्वपूर्ण रहेको बताउँदै कलाकार शर्माले यसअघि धेरैपटक भोट हाले पनि देशले बाटो पहिल्याउन नसकेको गुनासो गरे । यसपालि मतपरिणाम अलि फरक आउनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘यसपालि डाइनामिक युवाहरु चुनावी मैदानमा छन् र उनीहरुको विजय हुन्छ भन्ने मलाई विश्वास छ ।’
उनी यसपालि स्थानीय तह र सङ्घीय चुनावमा युवा उम्मेदवारहरुलाई सेलिब्रेटीहरुले खुलेर समर्थन जनाउनुलाई पुराना राजनीतिक दलप्रतिको वितृष्णा मान्छन् । ‘पुराना दललाई हामीले विश्वास गरेर पटक-पटक भोट हाल्दा देशमा केही भएन । त्यसैले यसपालि नयाँ उम्मेदवारलाई हेरौंन भन्ने हिसाबले सेलिब्रेटीहरुले विभिन्न उम्मेदवारलाई समर्थन गरेको हुनसक्छ,’ कलाकार शर्माले भने ।

