%20(2)(1)(1).jpg)
आज सङ्घीय चुनाव । ५ वर्षका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनिने दिन । विहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । निर्वाचनमा सहभागी भएर आफ्नो क्षेत्रको प्रतिनिधि चुन्नु हरेक नागरिकको कर्तव्य हो । कलाकारहरु पनि सबेरै मतदानस्थलमा पुगेर मतदान गरिरहेका छन् भने आम मानिसलाई पनि मतदान गर्न सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।
अभिनेत्री केकी अधिकारीले मतदान सुरु भएसँगै आफ्नो मनमा खेलिरहेका विभिन्न प्रश्नहरुलाई सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘हामीले चाहेको परिवर्तन के हो ? हामीले चाहेको नेतृत्व कस्तो हो ? हामीले खोजेको विकास कोबाट सम्भव छ ? हाम्रो आवाजको प्रतिनिधित्व कसले सही ढंगले गर्न सक्ला ? कस्तो नीति नियमले हाम्रो जीवन सहज होला ? हाम्रा सानादेखि ठुला समस्याहरु कसले सम्बोधन र समाधान गर्ला ? हाम्रो समानताको लडाइँ नथाकी कस्ले लड्न सक्ला ?’
उनले आज खसाल्ने मतले देश र जनताको वर्तमान र भविष्य निर्धारण गर्ने भएकाले मतदान गर्नु ठूलो जिम्मेवारी रहेको उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘मतदान गर्न पाउने अधिकार हामीले सजिलै पाएका पनि होइनौं । त्यसैले आफ्नो मत हाल्ने अधिकार र कर्तव्य पूरा गर्न आ-आफनो मतदान केन्द्रमा जाऔँ । कोही पनि नछुटौँ ।’ उनले ‘आफैं बनाऔं आफ्नो सरकार’ भन्दै मतदान गर्न आग्रह गरेकी छन् ।

