
लागू औषधविरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ‘सरी मम’मा समावेश ‘निःस्वार्थ माया’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक भएको छ । शुक्रवार साँझ यूट्युब रिलिज गरिएको गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् । यो गीतले फिल्मका युवा पात्रहरुको प्रेम र मित्रता बोल्छ । गीतको अडियो पक्ष बलियो छ ।
यही मंसिर १५ गतेबाट बागमती प्रदेशमा मात्र प्रदर्शनमा आउन लागेको फिल्मलाई हलमा प्रदर्शनपश्चात् लक्षित वर्गसम्म पुर्याउने अभियान थालिने निर्माता विनोद लामाले बताएका छन् । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायतको अभिनय छ ।
एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीले निर्देशन गरेको फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ । आयुष बुढाथोकी र सरोज पौडेलले संयुक्त रुपमा लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् । किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको निर्देशक बोगटीले जानकारी दिए ।

