नेपालमा वर्षेनि कयैन् विदेशी फिल्मको छायांकन हुने गर्छन् । तर, एकाध फिल्मले मात्र नेपालको सुन्दरतालाई महत्त्व दिन्छन् । यतिबेला प्रदर्शनरत बलिउड फिल्म ‘उचाईं’ले भने नेपाल प्राकृतिक रुपमा कति सुन्दर र धनी छ भन्ने कुरा संसारलाई देखाएको छ । फिल्म हेर्नेको ध्यान नेपालको सुन्दरताले बढी खिच्छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

फिल्मको मूल कथा सगरमाथासँग जोडिएको छ । प्रत्यक्ष रुपमा सगरमाथा हेर्न चाहेको एक साथीको सपना पूरा गर्न तीन साथीले गर्ने पदयात्रामा फिल्म आधारित छ । फिल्मले भारतीय बक्सअफिसमा आक्रामक प्रदर्शन गर्न नसकेता पनि नेपालको सुन्दरताको भने व्यापक चर्चा भइरहेको छ । सुन्दर दृश्य खिच्न स्विजरल्यान्ड पुग्ने बलिउडकर्मीलाई ‘उचाईं’ले नेपालको सुन्दरता देखाएको छ ।
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनमा ‘उचाईं’ कोशेढुंगा सावित हुने विश्वास लिएको छ । त्यसैले फिल्मका निर्देशकदेखि कलाकारसम्मलाई विशेष सम्मान गर्ने तयारीमा बोर्ड छ । बोर्डले शुक्रवार राजधानीको एक हल बुक गरेर विभिन्न व्यक्तिलाई फिल्म पनि देखायो । फिल्म हेरिसकेपछि कलाकार कृष्ण मल्लले ‘उचाईं’लाई १५ प्रतिशत विकास शुल्क मिनाहा गर्न आग्रह गरेका छन् ।
उनले फिल्ममा अभिनय गर्ने हरेक कलाकारहरुको अभिनयको प्रशंसा गर्दै फेसबुकमा लेखेका छन्, ‘सुरज बडजात्या जस्ता महान् शिल्पकारको निर्देशनमा बनेको यो फिल्मले नेपाली पर्यटन क्षेत्रमा ठूलो योगदान त दिनेछ नै, साथै नेपाल र भारतको जनस्तरमा रहेको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ भन्ने मेरो धारणा छ ।’ संसारमा यो फिल्मले नेपालको उचाईं बढाएको उनको भनाई छ ।
‘फिल्मको निर्माता, निर्देशक र कलाकारलाई नेपालमा बोलाएर सम्मान गर्न जरुरी छ, ताकि भविष्यमा यस्ता किसिमका फिल्म बनाउन प्रोत्साहन मिलोस्,’ उनले अगाडि लेखेका छन्, ‘सकिन्छ भने फिल्मलाई विकास शुल्क मिनाहा गरियोस् र यसका नेपालका वितरकलाई रकमसहित विशेष पुरस्कार दिइओस् ।’ अन्य फिल्मकर्मीहरुले पनि फिल्मको टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।

