यस वर्षको सेप्टेम्बर अन्तिममा रिलिज भएको तमिल फिल्म ‘पोन्नियिन सेल्वन १’ले कमाईमा ठूलो रेकर्ड बनाएको छ । प्रदर्शनको ५० दिने यात्रामा रहेको फिल्मले विश्वभरबाट ५ सय करोड कमाएको छ । योसँगै यस वर्षका ‘केजीएफ २’ र ‘आरआरआर’पछि ५ सय करोडको कमाई गर्ने तेस्रो साउथ फिल्म बनको छ । फिल्मले भारतभर मात्रै ३ सय करोडभन्दा बढीको कमाई गरेको छ ।
‘गुरु’, ‘युवा’, ‘थालापाथी’, ‘रावनन’, ‘अन्जली’, ‘गीतान्जली’ जस्ता कयौं उत्कृष्ट फिल्म पस्किसकेका मणि रत्नम निर्देशित फिल्ममा बलिउड सुपरस्टार ऐश्वर्या राय बच्चन, साउथ सुपरस्टार विक्रम चियान, कार्ति, तृषा कृष्णन, ऐश्वर्या लेक्ष्मीलगायतको अभिनय छ । उत्कृष्ट भिएफएक्स, बलियो कथावस्तु, सटिक प्रस्तुतीकरण र दमदार अभिनयका कारण यो फिल्मलाई दर्शकले रुचाएका हुन् ।
यस वर्ष साउथका केही फिल्मले विश्वमै रेकर्डतोड व्यापार गरे, जसमा यश स्टारर फिल्म ‘केजीएफ २’ पहिलो नम्बरमा छ । यसले विश्वभरबाट १२ सय करोड कमायो । दोस्रो नम्बरमा एस एस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ छ, जसले विश्वभरबाट १ हजार करोडको कमाई गर्यो । ५ सय करोडको कमाई गर्दै तेस्रो नम्बरमा ‘पोन्नियिन सेल्वन १’ले आफ्नो स्थान सुरक्षित गरेको छ ।

