Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘उचाईं’ : भारतमा डुब्ने बाटोमा, नेपालमा अपत्यारिलो कमाई

फिल्मीखबर, काठमाडौं, 2022/11/18

२०२२ बलिउडका लागि विर्सनलायक वर्ष बन्ने देखिएको छ । २०२३ सुरु हुन दुई महिना पनि बाँकी नहुँदा बलिउडले जम्मा ५ वटा फिल्म (‘ब्रम्हास्त्र’, ‘भूल भूलैयाँ २’, ‘गंगुवाई ‘काठियावाडी’, ‘द कश्मिर फाइल्स’, जुग जुग जियो’) हिट पायो । अन्य कयैन् आशातित फिल्मले लगानी समेत उठाउन सकेनन् । त्यसमा आमिर खानको ‘लाल सिंह चढ्ढा’देखि ऋतिक रोशनको ‘विक्रम वेदा’सम्म पर्छन् ।

२०२२ को अन्त्यतिर आइपुग्दा बलिउडलाई राजश्री प्रोडक्सनको फिल्म ‘उचाईं’प्रति ठूलो आशा र भरोसा थियो । अब्बल समीक्षा र बलियो ‘वर्ड अफ माउथ’ समेत पाएकाले फिल्मले बक्सअफिसमा सफलता पाउने आँकलन धेरैको थियो । तर, पहिलो विकेन्डपछि फिल्मको कलेक्सनमा गिरावट आउन रोकिएको छैन । फिल्मको ओरालोलाग्दो व्यापार देखेर बलिउडले हरेस खाइसकेको छ ।

पहिलो हप्तामा फिल्मले १७ करोड २ लाख कमाएको छ । शुक्रवारबाट बलिउडको ठूलो फिल्म ‘दृश्यम २’ प्रदर्शनमा आएकाले अब ‘उचाईं’ले कमाईमा उछाल ल्याउने सम्भावना नरहेको भारतीय मिडियाले बताएका छन् । ३५ करोडमा निर्माण भएको फिल्मले भारतबाट मश्किलले लगानीसम्म सुरक्षित गर्न सक्ने आँकलन गरिएको छ । तर, यो पनि फिल्मका लागि अत्यन्त कठिन देखिन्छ ।

 

Amitabh Bachchan shares pic with 'Uunchai' co-stars Anupam Kher & Boman  Irani: 'Ye umar ka tarkaja hai' | Celebrities News – India TV


भारतमा डुब्ने बाटोमा रहेको ‘उचाईं’ले नेपालमा भने अपत्यारिलो व्यापार गरिरहेको छ । नेपालमा ठूलो हिस्सा छायांकन भएको र नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै चर्चा हुन थालेपछि हलमा दर्शक ओइरिएका छन् । काठमाडौंका मल्टीप्लेक्सहरुमा हरेक दिन फिल्मले दर्शकको अभाव झेल्नु परेको छैन । दिउँसो र साँझका शोहरु हाउसफुल हुने गरेका छन् ।

नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले दोस्रो हप्तामा पनि ‘उचाईं’लाई उल्लेख्य शो उपलब्ध गराएको छ र शुक्रवार (आज) विहानैदेखि दिउँसो र साँझका शोहरु सोल्डआउटको चरणमा छन् । यसले पनि फिल्मप्रति नेपाली दर्शकको आकर्षण बढेको देखाउँछ । सिंगल स्क्रिनमा भने फिल्मको उपस्थिति कमजोर छ । हुन त विदेशी फिल्म नेपालका सिंगल स्क्रिनमा खासै चल्दैनन् ।

सुनिल मानन्धरको समुहले भारु ७५ लाख (नेपाली १ करोड १९ लाख) मा फिल्मको नेपाल प्रदर्शन अधिकार लिएको हो । दोस्रो हप्ताबाट फिल्मले आफूहरुलाई नाफा दिनेमा वितरक मानन्धर विश्वस्त छन् । उनले भने, ‘प्रत्येक दिन मल्टीप्लेक्सहरुमा ७५ देखि ८० प्रतिशतसम्म अकुपेन्सी छ । ‘वर्ड अफ माउथ’ उस्तै शक्तिशाली छ । त्यसैले फिल्मले नेपालमा लामो यात्रा गर्ने देखिएको छ ।’

उनी ‘उचाईं’ले नेपालमा उचाईं हासिल गर्नुलाई नेपालमा छायांकन हुनु प्रमुख कारण मान्छन् । ‘नेपालमा छायांकन नभएको भए फिल्मको मूल्य भारु ५ लाख हो । नेपालमा छायांकन भएकै कारण हामीले मोटो रकम तिरेका हौं,’ वितरक मानन्धरले भने, ‘फिल्म आफैंमा राम्रो छ । हेरुन्जेल बाँध्छ । त्यसमाथि नेपालका दृश्यहरुलाई सुन्दर ढंगबाट देखाइएकाले पनि हलमा दर्शक बढेका छन् ।’

सुनिलले यसअघि बलिउड फिल्म ‘जोयश भाई जोडदार’ नेपाल ल्याएर जोडदार घाटा बेहोरेका थिए । ‘उचाईं’ले भने उनलाई ठूलो राहत दिने देखिएको छ । मानन्धरको हातमा यतिबेला दुई ठूला नेपाली फिल्म ‘डिसेम्बर फल्स’ र ‘छड्के २’ पनि छ । कुनै समय नेपाली फिल्म वितरणमा ठूलो रजगज गरेका उनी अब फेरि फिल्म वितरणमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयासमा छन् ।