.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार तथा चर्चित अभिनेत्री रेखा थापाले यही मंसिर ४ गतेको निर्वाचन बा पुस्ता र युवा पुस्ताबीचको जनमत संग्रह रहेको बताएकी छन् । आफूले विद्रोहको रुपमा उम्मेदवारी दिएको बताउने गरेकी उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई भ्रष्टाचारी र भ्रष्टाचार विरोधी पुस्ताको लडाईंको रुपमा समेत अर्थ्याएकी छन् ।
नेतृ थापाले बिहीवार फेसबुकमा लेखेकी छन्, ‘यो युवा बेच्ने र युवा बचाउनेबीचको प्रतिस्पर्धा हो । यो जनता रुवाउनेसँग जनताको सेवामा समर्पित हुनेहरूको दबाब हो । यो सत्ता भोगीविरुद्ध जनतामुखी पुस्ताको संघर्ष हो ।’ उनले मोरङ क्षेत्र नं. ३ का जनतालाई कसको पक्षमा उभिने भनेर प्रश्न गरेकी छन् । ‘अझै पार्टी बचाउने नाममा छोरा-नाति विदेश पठाउने कि रोक्ने ?,’ उनको प्रश्न छ ।
रेखाले मोरङ ३ का जनतालाई कक्षा १२ सम्म निःशुल्क गुणस्तरीय शिक्षासहित यसरी पढौं अभियान, हरेक नारीलाई चुलोचौकाबाट निकालेर क्षमताअनुसारको सीप, देशका लागि छोरी परियोजना, हरेक वर्ष उत्पादन वर्ष, उत्पादनदेखि बजारसम्मको ग्यारेन्टी, एक क्षेत्र एक उत्पादन, रेखासँग युवा अभियान, भूमिहीनहरुलाई स्वामित्व, सिंहदरबारसँग संघर्षलगायतका प्रतिवद्धता जनाएकी छन् ।
रेखाको उम्मेदवारीले मोरङ ३ मा एमालेका उम्मेदवार भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्मालाई ठूलो चुनौती थपिएको छ । युवापुस्ता र महिलाहरुमा रेखाको आकर्षण गजब देखिएको छ । उनको विचार र एजेन्डालाई मतदाताहरुले गम्भीरतापूर्वक लिएका छन् । यसले चुनावी नतिजा उलटफेर हुने सम्भावना बढेको छ । तर, रेखालाई आफ्नो पक्षमा जित निकाल्न त्यत्ति सहज भने छैन ।

