
पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भए पनि बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हिन्दू राष्ट्र र राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । केही दिनदेखि मनिषा विभिन्न क्षेत्रबाट उठेका राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलोदेखि चुनावी सभासम्म निर्धक्क सहभागी भइरहेकी छन् ।
मंगलवार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रका लागि भोट माग्दै घरदैलोमा हिँडेकी बीपी कोइरालाकी नातिनी मनिषाले बुधवार एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी छन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितका लागि शुभकामना पनि दिएकी छन् ।
रेखाले फेसबुकमा राखेको भिडियोमा मनिषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याती कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’
रेखालाई नेपाली फिल्म क्षेत्रका प्रायःले खुलेर समर्थन जनाएका छन् । फिल्म क्षेत्रका मुद्धा राज्यको मुख्य तहसम्म पुर्याउनका लागि पनि रेखाले जित्नु पर्ने भन्दै विभिन्न फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट जितको शुभकामना दिइरहेका छन् । रेखा पनि आफू जित्नेमा विश्वस्त छिन् । दशैंअघिदेखि उनले आफ्नो क्षेत्रका जनतासँग भेटघाट गरेर समस्या बुझ्ने र जितेपछि समाधान गर्ने प्रतिवद्धता जनाउँदै आएकी छन् ।

