
संघारमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक विभिन्न क्षेत्रबाट नेपाली कलाकारहरुले पनि उम्मेदवारी दिएका छन् । कोही पार्टीबाट उम्मेदवार बनेका छन् भने कोही स्वतन्त्र उठेका छन् । यतिबेला धेरैको चासो मोरङ क्षेत्र नम्बर ३ मा छ । किनकि, यो क्षेत्रमा नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् ।
चुनाव नजिकिँए सँगै एमाले र कांग्रेसका प्रतिस्पर्धीको भोकनिन्द्रा हराउने गरी आक्रामक रुपमा प्रचार गरिरहेकी नेतृ थापालाई फिल्मकर्मीहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट मत माग्दै शुभकामना दिइरहेका छन् । यसैक्रममा, अभिनेत्री तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले पनि आफ्नो पार्टीका उम्मेदवार (भानुभक्त ढकाल) लाई नभइ रेखाका लागि भोट मागेकी छन् ।
मानन्धरले फेसबुकमा लेखेकी छन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानीको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा रेखा थापालाई भोट गर्नका लागि आग्रह गर्दछु ।’
फिल्म क्षेत्रका समस्या राज्यको मुख्य तहसम्म पुर्याउनका लागि पनि रेखाले जित्नु पर्ने उनको तर्क छ । करिश्मा पनि एमालेबाट प्रत्यक्ष वा समानुपातिकतर्फ टिकट पाउनेमा आशावादी थिइन् । तर, पार्टीले उनलाई टिकट दिएन । टिकट नपाए पनि उनी आफ्नो क्षेत्रका एमाले उम्मेदवारलाई जिताउन घरदैलोमा हिँडिरहेकी छन् । उनले स्थानीय निर्वाचनको मुखमा एमाले प्रवेश गरेकी थिइन् ।

