Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन राप्रपाको पक्षमा खुलिन् मनिषा कोइराला ?

फिल्मीखबर, काठमाडौं, 2022/11/15

यतिबेला देश चुनावमय बनेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्नो जित निकाल्न उम्मेदवारहरु दिनहुँ घरदैलो गरिरहेका छन् । नेपाली कलाकारहरु पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै गएका छन् । कसैले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका छन् भने कसैले पार्टीका उम्मेदवारका लागि खुलेर मत मागिरहेको अवस्था छ ।

 

manisha koirala


पारिवारिक पृष्ठभूमि कांग्रेस भएकी बलिउडकी नामी अभिनेत्री मनिषा कोइरालालाई पनि चुनावी माहोलले छोएको छ । तर, उनी कांग्रेससँग नभइ राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । राप्रपाका उम्मेदवारलाई मत माग्न उनी केही दिनदेखि चुनावी सभामा सहभागी भइरहेकी छन् । मनिषा राप्रपाको पक्षमा खुल्नुले धेरैलाई आश्चर्यमा पारेको छ ।

उनी यो हप्ता स्याङ्जा, मकवानपुर, काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा सहभागी भइन् । मंगलवार उनी काठमाडौं क्षेत्र नं. १ का राप्रपाका उम्मेदवार रविन्द्र मिश्रका लागि भोट माग्दै घरदैलोमा हिँडेकी छन् । उनको सहभागिताले राप्रपाप्रति थप आकर्षण बढेको छ । उनी अझै राप्रपाको पक्षमा मत माग्न अध्यक्ष राजेन्द्र लिङ्देनको साथमा केही क्षेत्रमा पुग्ने जानकारी प्राप्त छ ।

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् मनिषा । उनका पिता प्रकाश कोइराला पनि कांग्रेस पृष्ठभूमिका हुन् । २०६२ सालमा उनी वातावरण, विज्ञान तथा प्रविधि मन्त्री समेत भएका थिए । सिंगो परिवार नै कांग्रेस भए पनि मनिषा राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको राप्रपाको पक्षमा उभिनुले उनी कांग्रेस पार्टीप्रति तीव्र असन्तुष्ट रहेको बुझ्न सकिन्छ ।

क्यान्सरलाई जितेर पुनः अभिनयमा सक्रिय रहेकी मनिषा दशैंअघि मुम्बईमा थिइन् । चुनाव नजिकिँएसँगै उनी नेपाल फर्किएकी हुन् । उनले भारतबाट नेपाल आउँदै गर्दा ट्विटरमा लेखेकी थिइन्, ‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुनका लागि आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर आउँदैछु ।’

 

manisha koirala


लिङ्देनले भष्ट्रचार नगर्ने प्रतिवद्धता जनाएका कारण आफू राप्रपाप्रति आकर्षित भएको कोइरालाले बताएकी छन् । केही दिनअघि मकवानपुरमा आयोजित चुनावी सभामा उनले राजतन्त्र र बहुदलीय व्यवस्था ल्याउनको लागि राप्रपालाई भोट दिन आग्रह गरेकी थिइन् । ‘भष्ट्राचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्ने लिङ्देनको शब्दले आफूलाई राप्रपाप्रति तानेको मनिषाको भनाई छ ।