.jpg)
दशैं छेको पारेर भारतसँगै नेपालमा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबबाट अभिनेता प्रदीप खड्काले उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् । यही नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले डेब्यू अभिनेताको अवार्ड जितेका हुन् । अवार्ड प्राप्त गरेपछि खिचिएको तस्विरमा उनी खुसी देखिएका छन् ।
यो फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी डबसहित भारत, रुस, डेनमार्क, अमेरिका, यूके, इजिप्ट लगायतका देशका दर्जन बढी फिल्म प्रतिस्पर्धामा थिए । केही हप्तादेखि भारतमा रहेका प्रदीपको ‘प्रेमगीत ३’को हिन्दी डब प्रदर्शन भएसँगै बलिउडकर्मीसँग निकटता बढेको छ । उनी दुई हप्ता अगाडि मुम्बईमा भएको बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा समेत सहभागी भएका थिए ।
‘प्रेमगीत ३’को भारत प्रदर्शनले प्रदीपलाई बलिउड प्रवेश गर्नका लागि ठूलो ढोका खोलेको छ । स्रोतका अनुसार, चाँडै उनले एक बलिउड फिल्म साइन गरेको खबर सार्वजनिक हुन सक्नेछ । उनी यसैका लागि निर्माता सन्तोष सेनको साथमा दुई/तीन हप्तादेखि मुम्बईमा छन् । भारतमा ‘प्रेमगीत ३’ले उच्च कमाई नगरेता पनि प्रदीपको लुक्स र वाककलाले बलिउडकर्मीलाई लोभ्याएको छ ।
‘प्रेमगीत ३’ अभिनेता खड्काको करिअरकै सर्वाधिक कमाई गर्ने पहिलो फिल्म हो । नेपालमा यो फिल्मको हिन्दी र नेपाली भर्सनले ठूलो कमाई गरेको छ । तर, ‘कबड्डी ४’को रेकर्ड तोड्ने उनको दाबी भने फिल्मले पूरा गर्न सकेन । यद्यपि, ‘प्रेमगीत ३’ले नेपाली फिल्मका लागि भारतीय बजारमा ठूलो ढोका खोलेको छ । भविष्यमा यसको फाइदा धेरै नेपाली फिल्मले उठाउन सक्ने देखिन्छ ।

