Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

के ‘महापुरुष २’ बन्छ ?

फिल्मीखबर, काठमाडौं, 2022/11/14

mahapurus movie

 

अचेल नेपालमा सिक्वेल फिल्मको लहर छ । नयाँ नाममा बनेका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको आकर्षण बढी हुने भएकाले पनि निर्माताहरुले हिट फिल्मकै नामको पछाडि कुनै अंक वा अक्षर झुन्ड्याएर फिल्म बनाउँदै आएका छन् । व्यापारिक हिसाबले सिक्वेल फिल्म सुरक्षित मानिन्छ । कुनै फिल्मले हलबाट नाफा कमायो भने निर्माताले सिक्वेलको परिकल्पना गर्न ढिला गर्दैनन् ।

छठको विदा पारेर प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले पनि हिटको व्यापार गरेपछि यसका निर्माता र निर्देशकले सिक्वेलको मनस्थिति बनाएका छन् । हालै एक टेलिभिजन कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक प्रदीप भट्टराईले दर्शकबाट मिलेको प्रतिक्रियाले ‘महापुरुष २’ बनाउन हौसला र प्रेरणा मिलेको बताएका छन् । उनले फिल्मको सिक्वेल बन्ने लगभग दाबी पनि गरे ।

‘आमाहरु आवाज सुनिने र आँशु देखिने गरी रुनुहुन्छ, तर बाहरुको आँशु देखिँदैन । कुनै वैज्ञानिकले बाहरु रोएको आवाज सुन्ने मेशिन बनाएको छैन । त्यो एउटा मेशिन बनाऊँ भनेर ‘महापुरुष’ बनाएका हौं । हामी भनेको त डाक्टर, वैज्ञानिक सबै हो,’ उनले भने, ‘धेरैले यस्तै नदेखिएको चिजमा अर्को फिल्म बनाउन भन्नुभएको छ । कुनै विषयले हामीलाई छोयो भने ‘महापुरुष २’ बन्छ ।’

एकल पिताको एक्लोपन र सन्तानका लागि गरेको त्याग तथा समर्पणको कथामा निर्माण भएको ‘महापुरुष’ले तेस्रो हप्तामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ । विना विदामा पनि हलहरुमा ५०/६० प्रतिशतसम्म अकुपेन्सी कायम छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको यो फिल्मले घरेलू बक्सअफिसमा लाइफटाइम कलेक्सन १० देखि ११ करोडसम्म गर्न सक्ने प्रक्षेपण गरिएको छ ।