Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको अग्नि परीक्षा !

फिल्मीखबर, काठमाडौं, 2022/11/14

युवा पुस्तादेखि वृद्ध-वृद्धासम्मले चिन्ने नाम हो, रेखा थापा । नेपाली फिल्म नहेरेकालाई पनि उनको नाम र अनुहार अपरिचित होइन । झन्डै तीन दशक लामो अभिनय करिअरमा उनले बनाएको छवि र पहिचान नै उनलाई हरेक पुस्ताले चिन्ने बलियो आधार हुन् । एक समय नेपाली फिल्म क्षेत्रलाई काँधमा बोकेकी रेखा अब देशलाई काँध थाप्ने उद्देश्य बोकेर संसद् भवन छिर्ने प्रयासमा छिन् ।

 

rekha thapa


हिन्दू राष्ट्र र राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठेकी छन् । दशैंभन्दा अगावैदेखि उनी आफ्नो क्षेत्रका जनतासँग प्रत्यक्ष भेट गर्दै त्यहाँको समस्या बुझिरहेकी छन् । उनीप्रति त्यहाँका जनताको आकर्षण पनि लोभलाग्दो देखिएको छ ।

नेपाली फिल्मकी नामी अभिनेत्री भएकाले उनी घरदैलोमा हिँड्दा होस् वा सभामा बोल्दा, मोरङका जनताको उल्लेख्य उपस्थिति हुने गरेको छ । उनीसँग फोटो खिच्नेको भीड पनि थामिसक्नु हुँदैन । वालकलामा पनि पोख्त रेखाको विचार र एजेन्डाले त्यहाँका मतदाताको विश्वास जित्दै गरेको देखिन्छ । उनले भूमिहीन, सुकुमबासी, बेरोजगारीका समस्यालाई चुनावी मुद्धा बनाएकी छन् ।

केही दिनअघि नेतृ थापाले बेलबारी २ का जनतालाई प्रश्न गर्दै भनेकी थिइन्, ‘पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सति जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाईको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कसको लागि जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’

मोरङ क्षेत्र नं. ३ मा रेखाको प्रतिस्पर्धी एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्मा हुन् । यसअघिको निर्वाचनमा एमालेका ढकाल विजयी भएका थिए । यो क्षेत्रलाई एमालेको किल्ला मानिन्छ, जुन भत्काउने प्रयासमा रेखा छिन् । तर, ढकाल र शर्मासँगको प्रतिस्पर्धा उनका लागि सहज पक्कै छैन । तर, अहिले उनीप्रति देखिएको जनलहरले त्यस क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

 

rekha thapa


फिल्मबाट कमाएको ठूलो नाम र वालकलाका कारण उनका विचार र एजेन्डाहरु मतदाताले गम्भीरताका साथ सुनेका छन् । उनले जनताको घरघरै पुगेर समस्या बुझ्ने र समाधान गर्ने प्रतिवद्धता जनाएकी छन् । राजनीतिप्रति चरम वितृष्णा रहेको युवावर्ग उनको विचारप्रति आकर्षित छ, जुन मोरङ ३ मा प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेका उम्मेदवारलाई टाउको दुखाईको विषय बनेको छ ।

रेखा थापाप्रति मोरङ क्षेत्र नं. ३ का जनताको मात्र होइन, फिल्म क्षेत्रको पनि आशा र भरोसा छ । उनी संसद् भवन छिरे फिल्म क्षेत्रका समस्याहरु पनि बुलन्द रुपमा उठाउने विश्वास लिइएको छ । त्यसैले पनि फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् उनलाई हौसला दिँदै जितको शुभकामना दिइरहेका छन् । यो निर्वाचन रेखाको राजनीतिक करिअरका लागि एउटा अग्नि परीक्षा पनि हो ।