.jpg)
लागूऔषध दुर्व्यसनीविरुद्धको कथामा निर्मित फिल्म ‘सरी मम’को ओएसटी गीत सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको प्रेम वियोग बोल्ने गीतमा प्रज्वल श्रेष्ठको गायन, नविन बोगटी र गायक श्रेष्ठको संगीत तथा शब्द रचना छ । अभिनेता राजेश हमाल र प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाको उपस्थितिमा गीत रिलिज गरिएको हो ।
गीत सार्वजनिकसँगै फिल्मको प्रदर्शन मिति पनि तोकिएको छ । निर्माण टिमले आगामी मंसिर १५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । निर्माता विनोद लामाले फिल्मलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज हुने जानकारी दिए । सार्वजनिक प्रदर्शनीपछि फिल्मलाई देशव्यापी लक्षित वर्गसम्म पुर्याउन अभियान सुरू गर्ने उनको भनाई छ ।
मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल प्रतिष्ठित संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघलगायतले फिल्मलाई लक्षित वर्गसम्म पुर्याउनका लागि सहकार्य गर्नेछन् ।
नविन बोगटी निर्देशित फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल , आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ । दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन, आयुष वुढाथोकी र सरोज पौडेलको लेखन रहेको फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुन् ।

