
गत असोज अन्तिम साता नेपालमा प्रदर्शन भएको फिल्म ‘हिजो आजका कुरा’ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ । आइतवार (१३ नोभेम्बर) अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा फिल्म प्रदर्शन हुँदैछ । निर्देशक साकार पन्तले १८ देखि २५ नोभेम्बरसम्म अमेरिकाको डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा पनि प्रदर्शन हुने बताए ।
त्यस्तै, यही २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा फिल्म प्रदर्शन हुने पक्का भइसकेको पन्तको भनाई छ । फिल्मको अमेरिकाका विभिन्न शहरमा क्रमशः प्रदर्शन गरिने उनी बताउँछन् । उनका अनुसार, २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुआरीनामा पनि फिल्म प्रदर्शन हुनेछ । अष्ट्रेलियाका लागि फ्युजन मिडिया प्रोडक्शनले ‘हिजो आजका कुरा’को प्रदर्शन अधिकार लिएको हो ।
निर्देशक पन्त भन्छन्, ‘नेपालमा दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि विदेशमा फिल्मको डिमान्ड बढेको छ । अमेरिका र अष्ट्रेलियासँगै क्यानडा, युरोप, जापानलगायतका थुप्रै देशबाट फिल्मको माग आएको छ । हामी सकेसम्म धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’ विदेश मोहले परिवार र सम्बन्धमा पर्ने प्रभावको कथा वाचन गरेकाले पनि विदेशमा फिल्मको माग बढेको हो ।
फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रीमा बिश्वकर्मा, स्वर्गीय जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारीलगायतको अभिनय छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र रहेका छन् ।

