.jpg)
बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश उल्टाएर सफाई दिन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
यसअघि पनि तनहुँ र नवलपुर अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । नवलपुर जिल्ला अदालतले शाहलाई सजाय सुनाए पनि तनहुँ जिल्ला अदालतमा मुद्धा विचाराधिन छ । पल शाह करिब ९ महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् ।
गत फागुनमा एक नाबालिगका पिताले पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । जबर्जस्ती करणीको जाहेरी परेपछि पल फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । तर, पछि तनहुँ र नवलपुर दुवै अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् ।

