२०७८ सालमा नेपालमा छायांकन भएको बलिउडको मल्टीस्टारर फिल्म ‘उचाइँ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । सर्वोच्च शिखर सगरमाथा आसपासका क्षेत्रमा छायांकन भएको फिल्मले नेपालका मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ भने विहानैदेखि दर्शक अकुपेन्सी राम्रो छ । यो फिल्ममा कैद दृश्यले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
‘हम आपके हैं कौन’, ‘विवाह’, ‘मैंने प्यार किया’ जस्ता यादगार फिल्मका निर्देशक सूरज बडजात्या निर्देशित ‘उचाइँ’मा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका ठाकुर, नानी गुप्ताको मुख्य भूमिका छ । मित्रताको कथा बोल्ने फिल्मले तीन जना साथीले सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्दा आउने आरोह-अवरोहलाई प्रस्तुत गरेको छ ।
यो फिल्मको छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, नानी गुप्तालगायत नेपाल आएका थिए । अमिताभ भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् र उनले मुम्बईको एक स्टूडियोमा नेपाल महसुस गरे । फिल्ममा केही नेपाली कलाकारहरुले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । नेपालमा फिल्मको छायांकन हुँदा २० करोड खर्च भएको बताइन्छ ।

ट्राभलर्स क्रिउले मोटो रकम तिरेर ‘उचाइँ’को नेपाल प्रदर्शन अधिकार लिएको हो । नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर फिल्मलाई वितरण गरेका छन् । यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् (सुरज आचार्य) छ । नेपालमा छायांकन भएका कारण फिल्मले नेपाली बजारमा राम्रो पैसा छाप्ने अनुमान गरिएको छ ।
‘उचाइँ’ले प्रदर्शन आरम्भ गर्दा नेपाली फिल्म ‘महापुरुष’ले भने तेस्रो साताको प्रदर्शन सुरु गरेको छ । दुई सातामा सात करोड ग्रस कलेक्सन गरेको फिल्मले तेस्रो सातामा पनि मल्टीप्लेक्सहरुमा उल्लेख्य शो र पर्यात मात्रामा सिंगल स्क्रिन पाएको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मको तेस्रो सातामा पनि क्रेज घटेको छैन । शुक्रवार (आज) विहानैदेखि हलहरुमा दर्शक सुखद् छन् ।
यो हप्ता हलमा हलिउडको प्रतिक्षीत फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ पनि प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको यो फिल्मको आक्रामक रुपमा टिकट विक्री भइरहेको छ । भारतमा रिलिजको दुई हप्तापछि बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘राम सेतु’ पनि शुक्रवारबाट नेपालमा प्रदर्शन भएको छ । यो फिल्म भारतमै फ्लप भइसकेको छ ।

