
अभिनेत्री रीस्ता बस्नेतको कमब्याक फिल्म ‘पासो’को प्रदर्शन मिति तोकिएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा रीस्ता हातमा हथौडा बोकेर रगताम्मे अवस्थामा चित्रित छिन् । फिल्ममा उनी एक्सन भूमिकामा रहेको पोस्टरले बुझाउँछ । अभिनेत्री सुनिशा बजगाँई पनि पोस्टरमा प्रस्तुत छिन् ।
बी.आर इन्टरटेन्मेन्टको एकल ब्यानरमा निर्माण भएको फिल्ममा रीस्ता र सुनिशासँगै रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह-निर्माताको रुपमा छन् ।
दुई मिल्ने साथीलाई एक अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथामा फिल्म आधारित छ । फिल्मको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञानधाम’ निर्माणार्थ प्रदान गरिने समेत निर्माता भुजेलले जानकारी दिए । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौंभित्र र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

